काठमाण्डौ ,२५ बैशाख । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिकाले समुदाय केन्द्रित विकासका योजनाहरु अघि सारेको छ ।
आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरि काठमाण्डौ काग्रेसले विकासको योजना बनाउँदा देखि सम्पन्न हुँदा सम्म जनसमूदायलाई सङ्लग्न गराई अघि बढ्ने जनाएको छ ।
महानगरको कुनै पनि विकासको खाका कोर्ने, पूर्वाधारहरुको निर्माण गर्ने र यसको संरक्षण गर्ने कार्यहरुका साथै सोको अनुगमन समेत समुदायले नै गर्ने व्यवस्था मिलाउने काँग्रेस महानगरको घोषणापत्रमा उल्लेख छ ।
काग्रेसले सवै महानगरबासीको इच्छा “शिक्षा, स्वास्थ्य र सुरक्षा” तथा ‘सफा, समृद्ध, सुन्दर र उज्यालो काठमाडौँ हाम्रो जिम्मेवारी’ भन्ने मूल नारा समेत सार्वजनिक गरेको छ ।
घोषणापत्रको सार्वजनिक गर्दे नेपाली काँग्रेसका नेता एवम् पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले आगामि स्थानिय तह निर्वाचनमा आफ्ना उम्मेदवारको पक्षमा मत माग्ने उदेश्यले विकासका योजनालाई अगाडि सारेको बताउनु भयो ।
नेता सिंहले ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय महत्व बोकेको काठमाडौँलाई विश्वकै नमूना सहर बनाउनका लागि काँग्रेसलाई जिताउनुपर्ने बताउनुभयो ।
उहाँले काँग्रेसले राजनीतिक रुपमा परिक्षण भइसकेको व्यक्तिलाई उम्मेद्वार दिएको बताउँदै महानगरको विकासका लागि मेयरका उम्मेद्वार राजुराज जोशी योग्य उम्मेद्वार भएको दावी गर्नुभयो ।
काठमाडौँ महानगर काँग्रेसले फ्लाई ओभर निर्माण, अन्तर्रा्ष्ट्रिय स्तरको खेलकुँद रङ्गशाला निर्माण, सडक बत्ती र ट्राफिक बत्तीको उचित व्यवस्था, सडकमा सिसिटिभीको जडान, प्रदुषण नियन्त्रण, सडक विस्तार, खानेपानी पाइप जडान, विद्युतीय सवारी साधनलाई विशेष प्राथमिकतामा राखेको छ ।
काँग्रेस काठमाडौँ महानगरपालिका मेयरका उम्मेद्वार जोशी पाँच वर्ष्भित्र महानगरपालिकाभित्र मेट्रोरेल निर्माण गर्नेदेखि महानगरमा निशुल्क वाइफाइको व्यवस्था मिलाउने धारणा राख्नुभयो ।
यस्तै आधुनिक सडक पेटीको निर्माण, सुलभ पार्किङ स्थलको व्यवस्था, प्रमुख पर्यटकीय र व्यवसायिक क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्र तोकि निशुल्क महानगरीय सवारी साधनको व्यवस्था गर्ने, सडक पेटीमा रुख रोप्ने, काठमाडौँका ३२ वटै वडामा नमूना पार्क निर्माण गर्ने जनाएको छ ।
काँग्रेस काठमाडौँ महानगरपालिका उपमेयरकी उम्मेद्वार हरीप्रभा खड्गी (श्रेष्ठ) महानगरभित्र रहेका महिला दिदिबहिनीको हक अधिकारका रक्षाका लागि आफ्नो उम्मेद्वारी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मौलिक परम्परा, घरेलु शिल्पकला, हस्तकला जस्ता घरेलु उद्योगको माध्यामबाट महानगरभित्रका महिला र पुरुषको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्छु ।”
काँग्रेसले महानगरभित्रको फोहोरमैला व्यवस्थापन, घुम्ति शौचालयको व्यवस्था, विपद् व्यवस्थापनबारे जनचेतनामूलक कार्यक्रम, विपद्को समयमा अस्थायी वासस्थानको निर्माण, विद्युतीय सूचना प्रविधि केन्द्र, अनवरत रुपमा विद्युत उपलब्ध गराउने कुरालाई घोषणापत्रमा समेटेको छ ।
विभिन्न पर्यटकीय स्थानहरुमा महानगरीय पर्यटक सूचना केन्द्रहरु स्थापना गर्ने, सडक मार्ग गल्लीहरुको नाम पहिचान हुनेगरी बोर्ड राख्ने, मोवाइल एप्समार्फत मुख्य, मुख्य पर्यटकीय तथा व्यवसायिक स्थलहरुको जानकारी तथा सूचना प्रदान गर्नेलगायतका विकासका मुद्धालाई काठमाडौँ महानगरपालिका काँग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।