जुम्ला, २४ वैशाख । निर्वाचन आयुक्त सुधीर शाह नेतृत्वको पाँच सदस्यीय टोलीले ६ नं प्रदेशका तीन जिल्लाको स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी लिएको छ ।
जुम्ला, डोल्पा र कालीकोटको निर्वाचन तयारीबारे आज सो टोलीले जानकारी लिएको हो । सो अवसरमा निर्वाचन आयुक्त शाहले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, र भयरहीत वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जिल्लाका प्रमुख तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो ।
टोलीका सदस्य तथा क्षेत्रीय प्रशासक बेगेन्द्रराज शर्मा पौडेलले निर्वाचनलाई निष्पक्ष बनाउन निजामती कर्मचारी, सुरक्षा निकाय र स्थानीय प्रशासनको बीचमा सञ्चार समन्वय हुन आवश्यक रहेको बताउनुभयो । उहाँले निर्वाचनका क्रममा देखिने समस्याको समाधान गर्न पूर्वतयारीमा लाग्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिनुभयो ।
सो अवसरमा प्रहरी नायब महानिरीक्षक विजयलाल कायस्थले निर्वाचनलाई शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायले इमान्दारितापूर्वक आफ्नो कर्तव्य पालना गर्नुपर्ने बताउनुभयो ।
यसैबीच, जुम्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जिल्लाका ८७ वटै मतदान केन्द्रको सुरक्षा व्यवस्था मजबुद बनाइएको बताउनुभएको छ ।
निर्वाचनको सुरक्षका लागि एक हजार ५४४ सुरक्षाकर्मी परिचालन गरिने उहाँले बताउनुभयो । करिब ७०० को सङ्ख्यामा नेपाल प्रहरी र म्यादी प्रहरी, सोही सङ्ख्यामा नेपाली सेना, १३० को सङ्ख्यामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट दुई÷दुई जनाको दरले सुरक्षाकर्मी परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।
मतदान केन्द्रमा आवश्यक पर्ने सामग्रीसहित सुरक्षाकर्मी तथा कर्मचारी यही वैशाख २७ गतेसम्म कार्यक्षेत्रमा पुगिसक्ने प्रजिअ सापकोटाले बताउनुभयो ।