बैशाख ,२४ लहान ।
स्थानिय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालले मधेसका ११ वटा जिल्लाका शीर्ष नेताहरुको बैठक बोलाएको छ ।
स्थनिय तहको निर्वाचनमा उमेद्वारी दर्ता गराएपछि मोर्चाका अन्य घटनबाट आलोचित बनेको फोरमले मधेसमा आफ्ना कार्यकर्ताको विचार बुझ्न बैठक बोलाएको बताईएको छ ।
बैठकमा पर्सादेखि झापासम्मका पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय परिषद् र जिल्ला अध्यक्षहरु सहभागी छन् ।
तर समाजवादी फोरमले भने केन्द्र र जिल्लाका शीर्ष नेतृत्वलाई प्रशिक्षित गर्ने उद्देश्यले बैठक आयोजना गरिएको बताएको छ ।
बैठकमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, उपाध्यक्षहरु युवराज कार्की, रेणु यादव, लालबाबु राउत र केन्द्रीय कोषाध्यक्ष एवं पूर्वमन्त्री विजय यादव सहभागी छन् ।
संविधान संशोधन नभएसम्म चुनावमा नजाने बताउँदै आएको फोरम नेपालले वैशाख ३१ गते हुने प्रदेश नं. ३, ४ र ६ को चुनावमा सहभागिता जनाएको छ ।
पछिल्लो समय विकसित राजनीतिक परिस्थितिको सामना गर्न पार्टीलाई झन् सुद्दढ, संगठित, चुस्त दुरुस्त र नेतृत्वपंक्तिलाई अझ प्रभावकारी ढंगले परिचालन गर्न शीर्ष नेताहरुको बैठक बोलाइएको फोरमकी नेतृ रेणुकुमारी यादवले बताउनु भयो ।
गोष्ठीमा अध्यक्ष यादवसहित अन्य शीर्ष नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।