काठमाडौं २१ बैसाख ।
तीन महिने एकिकृत जनजागरण तथा प्रतिरोध अभियान सन्चालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु देशका विभिन्न स्थानबाट पक्राउ परेका छन् ।
काठमाण्डौको कीर्तिपुर स्थीत नयाँ बजारबाट कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य नारायण महर्जनलाई प्रहरीले गिरफ्तार गरेको छ ।
बाटोमा हिँडिरहेको अवस्थामा महर्जनलाई प्रहरीले गिरफ्तार गरि महानगरीय प्रहरी वृत्त टेकुमा राखेको छ ।
त्यस्तै बर्दियाबाट जिल्ला ईन्चार्ज सहित २० जना नेता कार्यकर्तालाई पक्राउ परेका छन् । बर्दीयाको गुलरियाबाट ईन्चार्ज देबकला अधिकारी सहितका नेताहरुलाई पक्राउ गरेको हो ।
चितवन र काभ्रेका विभिन्न स्थानबाट पनि आजै नेकपाका नेता कार्यकर्ताहरु पक्राउ परेको जनाइएको छ ।
उता , रोल्पाको सदरमुकाम लिबाङबाट नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य एवम् जलजला सांस्कृतिक परिवार रोल्पाका अध्यक्ष हिमाल पुन सहित दुर्इै जना पक्राउ परेका छन् ।
सांस्कृतिक कार्यक्रम देखाउँदै गर्दा दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
यसभन्दा अघि जिल्लाका सुलिचौर र घर्तीगाउँमा सांस्कृतिक कार्यक्रम देखाइसकेको र आज लिवाङमा कार्यक्रम गरिरहेको अवस्था उनीहरुलाई पक्राउ गरेको नेता सन्तोष सुवेदीले जानकारी दिनुभयो ।
शान्तिपूर्ण ढङ्गले आफ्नो कला प्रस्तुत गरिरहेका बेला सांस्कृतिक कार्यक्रम गर्न पाउने अधिकारमा समेत सरकारले हस्तक्षप गरेको भन्दै तुरुन्त रिहा गर्न सुवेदीले स्थानीय प्रशासनसँग आग्रह गर्नुभएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रोल्पामा राखिएको छ ।