काठमाडौ २१ वैशाख ।
आगामि बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनमा ४४ हजार ४१ जनाको उम्मेद्वारी परेकोे छ ।
निर्वाचन आयोगका अनुसार तीन वटा प्रदेश अन्तर्गत २ सय ८३ स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष र नगर प्रमुखका लागि १ हजार ८ सय ४७ जनाको उम्मेदवारी परेको छ ।
उपाध्यक्ष र नगर उपप्रमुखका लागि भने १ हजार ३ सय ६७ जनाले मात्रै उम्मेदवारी दिएको आयोगले जनाएको छ ।
नगरपालिकाको एक–एक जना प्रमुख र उपप्रमुख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, प्रत्येक वडाका वडाध्यक्ष निर्वा्चित हुनेछन् ।
त्यस्तै प्रत्येक वडामा दुई खुला, एक महिला र एक दलित महिलासहित चार जना वडासदस्य चुनिनेछन् । २ हजार ५ सय ९८ वडामा वडाध्यक्षका लागि १० हजार २४ जनाको उम्मेदवारी परेको आयोगको तथ्याङ्क छ ।
त्यस्तै खुला सदस्यतर्फ १५ हजार ९ सय ३७, महिला सदस्यका लागि ७ हजार ९ सय ३६ र दलित महिला सदस्यका लागि ६ हजार ५ सय ९९ जनाको उम्मेदवारी परेको छ ।
अझै कतिपय स्थानबाट विवरण आउन बाँकी रहेकाले उम्मेदवारको संख्या ४५ हजारभन्दा बढी पुग्ने आयोगको आँकलन छ ।
वैशाख ३१ मा हुने प्रदेश नम्बर ३, ४ र ६ का स्थानीय तहहरूको निर्वाचनका लागि गत मंगलबार उम्मेदवारी दर्ता भएको थियो ।
उम्मेदवारी फिर्ताका लागि आज ५ बजेसम्मको समय तोकिएको थियो । उम्मेद्वारको अन्तिम नामावली भने भोली बिहान १० बजेसार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।
यस्तै आयोगले भोली नै उम्मेद्वारलाई समेत चुनाव चिह्न प्रदान गर्दैछ ।
तीनवटा प्रदेशका चार महानगर, एक उपमहानगर, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकामा १३ हजार ५ सय ५६ सिटका लागि पहिलो चरणमा निर्वाचन हुन लागेको हो ।