काठमाडौ ,वैशाख २० ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि आज उमेदवारको दावी विरोधमा उजुरी दर्ता गरिने भएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको दावी विरोधमा उजुरी दर्ता गर्न समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।
१९ वर्षपछि स्थानीय तहको जनप्रतिनिधि चयनका लागि पहिलो चरण अन्तरगत प्रदेश नम्बर ३, ४ र ६ का गरी तीन प्रदेशका ३४ जिल्लामा २ सय ८३ स्थानीय तहका लागि आकांक्षीको दावि विरोधमा उजुरी दर्ता गर्न सकिने छ ।
यस्तै भोली मनोनयन पत्र जाँच गर्नेछ भने सोही दिन मनोनयन भएको उमेदवारको नामावाली प्रकाशन गर्ने आयोगको तयारी छ । उमेदवारको नामावली फिर्ताका लागि भोली नै दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ ।
उमेदवारको अन्तिम नामावली प्रकाशनका लागि वैशाख २२ गते १० बजेदेखि ११ बजेसम्मको समय निर्धारण गरेको छ भने उम्मेदवारलाई निर्वाचन चिन्ह पनि २२ गते नै प्रदान गरिने आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
यस्तै नुवाकोटका २, डोल्पा, जुम्ला र दैलेखका केही स्थानीय तहको दर्ता सूची प्राप्त नभएको आयोगका प्रवक्ता शर्माले जानकारी दिनुभयो । सञ्चार सेवाको अभावमा सूची प्राप्त हुन नसकेको उहाँको भनाई छ ।
त्यसपछि वैशाख ३१ गते स्थानीय तहको नेतृत्व चयनका लागि मुलुकभरका ७ सय ४४ स्थानीय तह मध्ये पहिलो चरणमा २ सय ८३ तहका ४ हजार ६० मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ ।