काठमाडौं, बैशाख १९ ।
बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि आज काठमाडौं जिल्लाका महानगरपालिका र नगरपालिकामा विभिन्न दलका उम्मेदवारले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
बिहान १० बजेबाट काठमाडौं महानगरपालिकासहित १० वटै नगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको हो । सबैभन्दा ठूलो काठमाडौं महानगरमा अहिले उम्मेदवारी दर्ता गराउनेको भीड छ भने महानगरको राष्ट्रिय सभागृहमा रहेको निर्वाचन कार्यालयमा पार्टीका कार्यकर्ताको भीड लागेको छ ।
काठमाडौं महानगरका मुख्य निर्वाचित अधिकृत पुरुषोत्तमप्रसाद दाहालकाअनुसार अहिलेसम्म ६ जनाले प्रमुखमा र तीनजनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
मेयर पदमा राष्ट्रिय जनमोर्चाबाट डा. निर्मलकुमार थापा, विवेकशील नेपाली दलबाट रन्जु न्यौपाने, साझा पार्टीबाट किशोर थापा, देशभक्त पर्यावरणीय सामाजिक मोर्चाबाट सुरेन्द्रप्रसाद ढकाल, स्वतन्त्रबाट अमोत महर्जन र विनोदकुमार क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी उप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट ऋतु सापकोटा, स्वतन्त्रबाट जनिशा भट्टराई र निरुपमा यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय रहेता तोकिए ता पनि ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का तर्फबाट अहिलेसम्म उम्मेदवारी दर्ता गराएका छैनन् ।
निर्वाचन अधिकृतकाअनुसार अहिलेसम्म करिब दुई सय जनाले वडाअध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।