बनेपा, १८ वैशाख । काभ्रेपलाञ्चोकमा दर्ता भएका २६ दलमध्ये १३ दलले चुनाव चिह्न नपाउने भएका छन् ।
उनीहरु स्वतन्त्र चुनाव चिह्न लिएर मात्रै आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुन पाउने जिल्ला निर्वाचन कार्यालय, धुलिखेलका निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
“मतपत्रमा चुनाव चिह्न छापिसकेको छ, अन्तिम नामावली प्रकाशनपछि निर्वाचन आयोगले तोकेअनुसार निर्वाचन अधिकृतले नै चुनाव चिह्न प्रदान गर्नुहुन्छ”–उहाँले भन्नुभयो ।
जिल्लामा देशभक्त पर्यावरण सामाजिक मोर्चा, राष्ट्रिय चुरे भावर पार्टी, राष्ट्रिय शिव सेना पार्टी, नेपाल कम्युनिष्ट पार्टी, नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टी, लिवरल डेमोक्रेटिक पार्टी, नयाँ शक्ति नेपाल, विवेकशील नेपाली दल, शान्ति पार्टी नेपाल, युनाइटेड ग्रीन अर्गनाइजेसन, चुरे भावर लोकतान्त्रिक पार्टी, गान्धीवादी पार्टी नेपाल र लोककल्याणकारी जनता पार्टी नेपालले चुनाव चिह्न नपाउने भएका हुन ।
निर्वाचन अधिकारी पोखरेलले स्वतन्त्र चुनाव चिह्न भएका सबै उम्मेदवारको चुनाव चिह्न एकै किसिमको नहुने उल्लेख गर्दै उम्मेदवार अनुसार फरकफरक चुनाव चिह्न हुने बताउनुभयो । यही वैशाख ३१ गते पहिलो चरणको स्थानीय तहको निर्वाचन हुँदैछ ।
जिल्ला निर्वाचन कार्यालय, धुलिखेलमा दर्ता भएका राजनीतिक दलमध्ये १३ दलले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्छन् । काभ्रेपलाञ्चोकमा सात गाँउपालिका र छ नगरपालिका छन् । दुई लाख ३० हजार आठ सय ४९ मतदाता रहेको काभ्रेपलाञ्चोकमा एक सय ८९ मतदानस्थलमा तीन सय सात मतदान केन्द्र रहेको छ ।