बिरामीसँग प्रेममा परेर नेपाल आएकी थिइन् पहिलो नर्स अमात्य

बिरामीसँग प्रेममा परेर नेपाल आएकी थिइन् पहिलो नर्स अमात्य

  • सोमवार, बैशाख १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

लामू अमात्यलाई नेपाल सरकारले ‘पहिलो नेपाली नर्स’ घोषणा गरेको छ। जो नेपालीसँग विवाह गरेर नेपाली नागरिक बनेकी थिइन्। भारतको दार्जीलिङमा विक्रम संवत् १९८८ माघ १४ गते जन्मिएकी उनी कलकत्तामा हुर्केकी हुन्।

उनी नेपाल आउनुसँग एउटो संयोग छ। त्यो हो आफू नर्सिङ पढिरहेकै मेडिकल कलेजको अस्पतालमा उपचाररत बिरामीको प्रेममा पर्नु। ती नेपाली थिए, काठमाडौँका रैथाने भुवनेश्वर अमात्य। उनी पनि त्योबेला कलकत्तामै पढ्थे। सोही बेला उनको खुट्टामा समस्या आयो। उनी उपचारका लागि कलकत्ता मेडिकल कलेजमा भर्ना भए।

त्यहीँ नर्सिङ पढिरहेकी लामूसँग भुवनेश्वर सुरुमा एकोहोरो प्रेममा परे। उनी प्रेममा पर्नुको कारण लामूको कत्थक नृत्य हो। मेडिकल कलेजको सांस्कृतिक कार्यक्रममा लामूले कत्थक नाँच देखाएकी थिइन्। अस्पतालमै उपचाररत भुवनेश्वर नाच हेर्न पुगेका थिए। भुवनेश्वरलाई लामूको नृत्य र सौन्दर्यले त्यतिबेलै आकर्षित गर्‍यो। त्यस्तै ३ देखि ४ हप्ता अस्पताल भर्ना भएका भुवनेश्वरलाई रेखदेख गर्न सिकारु नर्सका रुपमा लामू आइरहन्थिन्। उनीहरुको भेटघाट भइरह्यो। यही क्रममा कुराकानी भयो, माया मौलाउँदै गयो। भुवनेश्वर र लामूका कान्छो छोरा चर्चित गायक योगेश्वर अमात्य भन्छन्, ‘आमाको नृत्य र रुप देखेपछि बुवा पग्लिनुभएको होला। आमा नेपाली भाषी नै भएकाले कुराकानी, भेटघाट गर्न सजिलो भएछ र अस्पताल बसाइकै क्रममा प्रेम पनि बसेछ।’

नर्सिङ नसकिँदै सन् १९५३ मा भुवनेश्वरसँग विवाह गरेर नेपाल आइन् लामू। सन् १९५४ मा स्टाफ नर्सको पढाइ सकिएपछि नेपाली नागरिकता लिएर नेपालमै सेवा गर्ने उद्देश्यले उनले कलकत्ता छोडिन्।

आमाले नेपालकै पहिलो नर्सिङ स्कुल काठमाडौँको क्षेत्रपाटीमा खोलेको छोरा योगेश्वर बताउँछन् । भन्छन्, ‘राजा महेन्द्रको अनुरोधमा उहाँले नर्सिङ स्कुल खोल्नुभएको थियो।’

लामूले २०१२ साल फागुन ३० गतेदेखि स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर काम गर्न थालेकी हुन्। नेपालमै मिडवाइफ्रीको तालिम दिने तीन वर्षे परियोजनाका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट एकजना नर्स मिस रोज नेपाल आएकी थिइन्। उनलाई साथ दिन लामूलाई सरकारी सेवामा राखिएको थियो।

यसरी नेपालमा काम गर्ने र नेपाली नागरिकका रुपमा उनी पहिलो नर्स भइन्। तर, उनी नेपाली नागरिकको सन्तान भने थिइनन्। त्यसैले नेपालीकै सन्ततिलाई पहिलो नर्स ठान्नुपर्ने विवाद उठेको थियो। नेपालीकी सन्तानका रुपमा पहिलो नर्स भने उमादेवी दास हुन्।

मन्त्रालय स्रोत भन्छ, ‘बुहारी र छोरीका कुरा भावनात्मक हुन्। सरकारले हेर्दा नेपाली नागरिकका रुपमा हेर्ने गर्छ। नेपालीसँग विवाह गरेर नेपाली नागरिकता हासिल गरेकाले पहिलो नेपाली नर्सको उपमा सरकारले लामूलाई दिएको हो।’

२०६९ साल जेठ १९ गते लामूको निधन भयो। ८३ वर्षको उमेरमा निधन भएकी उनलाई अन्तिमका केही वर्ष अल्जाइमर्स भयो। योगेश्वर भन्छन्, ‘अल्जाइमर्स भएको समयमा मान्छेको अनुहार पनि चिन्नु हुन्थेन तर नर्सलाई पढाउन जानुपर्छ भनिरहनु हुन्थ्यो।’ यो कुराले योगेश्वरलाई आमाले नर्सिङ क्षेत्रमा पु¥याएको योगदानको कुनै न कुनै रुपमा कदर भइदियोस् भन्ने लागेको थियो। उनी आफू पनि केही गर्ने मनसायमा थिए तर त्यही बेला ‘पहिलो नेपाली नर्स को हो?’ भन्ने  विषयमा स्वास्थ्य मन्त्रालयले स्पष्ट धारणा दिन सकेन।

 

पहिलो नर्सको प्रमाणपत्र दिदै स्वास्थ्य मन्त्री गगन थापा

त्यसपछि योगेश्वर लागे, सम्पूर्ण प्रमाण जुटाउन। प्रमाण जुटाएर पटक–पटक स्वास्थ्य मन्त्रालयको दैलोमा पुगेर उनले ‘पहिलो नेपाली नर्स को हो?’ भन्ने प्रश्नको जफाव मागे। तर, यसअघिका कुनै पनि मन्त्री वा स्वास्थ्य मन्त्रालयका अधिकारीले उनको कुरा सुनिदिएनन्। उनी भन्छन्, ‘गगन थापा मन्त्री हुनुभएपछि एकपल्ट फेरि गएँ। उहाँले जो भए पनि छानविन गरेर क्लिएर गर्न निर्देशन दिनुभयो। त्यसैको परिणाम आज आमाले न्याय र सम्मान पाउनु भएको छ।’

योगेश्वरले आमाका नाममा केही गर्ने इच्छा प्रकट गरे। भने, ‘गरिब परिवारका छोरीलाई नर्सिङ पढ्दा छात्रवृत्ति स्वरुप केही रकम सहयोग गर्न पाए हुन्थ्यो कि? तपाईंहरुले सुझाव दिनु न, कसरी र कसलाई दिँदा राम्रो हुन्छ?’ उनको योजना छ, सातै प्रदेशका एक–एक जनालाई नर्सिङ पढ्न वर्षेनी एक लाख रुपैयाँ सहयोग गर्ने। -स्वास्थ्य खबरपत्रिकाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी