काठमाडौँ, १४ वैशाख ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले गैरसरकारी संस्थाका प्रतिनिधिलाई निर्वाचन आचारसंहिताको परिधिमा रहेर आफ्ना गतिविधि र कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
आगामी स्थानीय तहको निर्वाचनमा नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिलाई राजनीतिक दलको भ्रातृसंस्थाका रुपमा नभई निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गर्न अपिल गर्नुभयो ।
नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिसँग आज भएको अन्तक्र्रियामा उहाँले निर्वाचन शीर्षकमा नेपाली जनताको नाममा भएको रकम र सहयोगलाई मतदाता शिक्षामा सदुपयोग गर्न सुझाव पनि दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले आगामी निर्वाचनको समयमा कुनै दल विशेष र मतदातालाई प्रभाव पार्ने ढङ्गबाट नभई गैरसरकारी संस्थाको गरिमा बढाउने स्वतन्त्र र निष्पक्ष भूमिकामा रहन सुझाव दिनुभयो ।
यस्तै आयुक्त इला शर्माले लोकतन्त्रको पहिलो अभ्यास र जनताले आभास गर्ने विषय स्थानीय तहको निर्चाचनपछि मुलुकमा अभूतपूर्व रुपमा सशक्तीकरणको जागरण पैदा हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपालमा २५४ अन्तर्रा्ष्ट्रिय तथा ३९ हजार ६६२ राष्ट्रिय गैरसरकारी सङ्घसंस्था दर्ता रहेको जानकारी दिइएको थियो ।
नेपालमा दर्ता भएका गैरसरकारी सङ्घसंस्थाले आर्थिक विकास, सामाजिक रुपमान्तरण, सुशासन, मानवअधिकार, शान्ति, महिला सशक्तीकरण, बालअधिकार, शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएका छन् ।