काठमाडौ, १३ वैशाख ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कांग्रेस माओवादी केन्द्रको गठबन्धनले संबिधान संशोधनको बखेडा झिकेर निर्वाचन भाँड्न खोजेको आरोप लगाउनु भएको छ ।
नेकपा एमाले सात नम्बर प्रदेशले आज कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले स्थानीय तह निर्वाचनको मिति घोषणा गरिसकेपछि जनतामा भ्रम सृजना गर्ने कार्य बन्द गर्न सरकारलाई चेतावनी दिनुभयो ।
उहाँले निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित वातारणमा सम्पन्न गर्ने कुरामा केन्द्रित हुनुपर्नेमा संविधान संसोधनको कुरा उठाएकोले एमालेले विरोध गरेको बताउनु भयो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र केहि मधेस केन्द्रित दलहरुले संविधान संशोधनको कुरा ल्याएर चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको रावलको आरोप छ ।
उपाध्यक्ष रावलले नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन २०७४ माघ ७ पछि अनिश्चयको खाडलमा देशलाई लैजाने र बाहिरी हस्तक्षेप निम्त्याउने खेलमा लागेको आरोप समेत लगाउनु भयो ।
काग्रेसको घोषणापत्रमा एमाले असहिष्णु र उग्र राष्ट्रबादी भएको आरोप लगाएकोबारे उहाँले नेपालमा नाकाबन्दी हुँदा त्यसको विरुद्ध लडनु उग्रबाद हुनु र नेपालको सरकार र शासन व्यवस्था बाहिरी हस्तक्षेपमा चल्न दिनु कांग्रेसको राष्ट्रबाद हो भन्ने प्रश्न समेत गर्नुभएको थियो ।