‘एकै चरणमा निर्वाचन हुने भनिएको दुई चरणमा गर्न खोज्नु राजनीतिक षड्यन्त्र’ : नेकपा (एमाले)

‘एकै चरणमा निर्वाचन हुने भनिएको दुई चरणमा गर्न खोज्नु राजनीतिक षड्यन्त्र’ : नेकपा (एमाले)

  • सोमवार, बैशाख ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

भक्तपुर, बैशाख ११ ।
नेकपा (एमाले)ले बैशाख ३१ गते स्थानीय तहको चुनाव एकै चरणमा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको स्थायी समिति बैठकले निर्वाचन आयोगले एकै चरणमा निर्वाचन गर्न सम्पूर्ण तयारी गरिसकेको अवस्थामा दुई चरणमा चुनाव गर्न खोज्नु चुनाव हुन नदिने, राजनीतिक गतिरोध कायमै राख्ने षड्यन्त्र भएको निष्कर्ष निकालेको हो ।

निर्वाचनमा जनता उत्साहित भएको र सबै दलहरू निर्वाचनमा होमिइसकेको अवस्थामा फेरि निर्वाचन सार्न खोज्नु निर्वाचन हुनै नदिने षड्यन्त्र हुनसक्नेमा एमालेले आशङ्का व्यक्त गरेको छ । बैठकपछि सञ्चारकर्मीलाई जानकारी गराउँदै एमाले सचिव योगेश भट्टराईले दुई चरणमा निर्वाचन गर्ने र त्यो पनि जेठ १५ गतेपछि निर्वाचन गर्ने निर्णय एमालेलाई कदापि मान्य नहुने बताएका छन् ।

उनले भने ‘एमाले निर्वाचनको विरोधी होइन, एकैचरणमा घोषित बैशाख ३१ कै मितिमा निर्वाचन हुनुपर्ने एमालेको पूर्ववत् अडान अहिले पनि कायमै छ, दुई चरणमा निर्वाचन गर्ने हो भने संवाद गर्न एमाले तयार छ ।’

जेठ १५ गते बजेट ल्याएर आचारसंहिता विपरीत जेठ ३१ गते निर्वाचन गर्ने कुरामा सहमत हुनै नसकिने एमालेको ठहर रहेको प्रतिक्रिया दिँदै उनले बजेट प्रस्तुत गरेर चुनावमा राज्यशक्तिको दुरुपयोग गर्ने कार्यमा एमाले सहमत हुन नसक्ने बताए ।

सबै राजनीतिक दललाई निर्वाचनमा भाग लिने वातावरण बनाउन एमाले सकारात्मक रहेको बैठकको निर्णय रहेको जानकारी गराउँदै उनले भने ‘सरकारले निर्वाचन हुने सुनिश्चित गर्नुपर्छ, बजेटको परिस्थितिलाई पनि ध्यानमा राखेर अन्य विकल्पका लागि एमाले छलफल गर्न तयार छ ।’

बैठकले सरकारले संविधान संशोधनका लागि ल्याएको पछिल्लो प्रस्ताव विगतको भन्दा पनि अझै प्रतिगामी रहेको भन्दै त्यस्तो संशोधन प्रस्ताव एमालेले असफल पार्ने निर्णय गरेको छ ।

उनले भने ‘विगतका भन्दा पनि अझै प्रतिगामी प्रस्तावहरू छलफलमा आएका छन्, संविधानको धारा २७४ लाई समाप्त गरेर सीमाङ्कनलाई हेरफेर गर्ने, स्वेच्छाचारी अधिकारलाई अगाडि बढाउने, प्रदेशको अधिकारलाई कटौती गर्ने, स्थानीय तह र स्थानीय जनप्रतिनिधिहरूको अधिकारलाई कटौती गर्ने लगायतका थप संशोधन प्रस्तावहरू चर्चामा छन्, यस्तो प्रस्तावमा एमालेको समर्थन रहँदैन, यस्ता विषयहरू संसद्को छलफलमा नल्याउन र संसद्मा टेबुल नगर्न पनि सरकारको ध्यानाकर्षण गर्छौं ।’

उनले यस्ताखालका असंवैधानिक राष्ट्रविरोधी, जनविरोधी प्रस्तावहरुलाई सम्पूर्ण प्रयत्नबाट असफल पार्न एमाले अगाडि बढ्ने उनले बताएका छन् । चुनाव दुई चरणमै गर्ने भए पनि यति ठूलो अन्तर हुन नहुने बताउँदै सचिव भट्टराईले दोस्रो चरणको चुनाव बजेटअघि नै गर्ने हो भने छलफल गर्न सकिने उल्लेख गरे ।

मधेशकेन्द्रित दलहरू राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरम नेपालसँग शनिबार भएको सहमतिअनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले बैशाख ३१ गते पहिलो चरणमा प्रदेश नं ३, ४, ६ र जेठ ३१ गरी दोस्रो चरणमा प्रदेश नं १, २, ५ र ७ मा चुनाव गर्ने सरकारले निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ