काठमाडौं, बैशाख ६ ।
भारतको पाँच दिने भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँदिल्लीमा राजनीतिक उच्चस्तरीय भेटघाट सकाएकी छन् ।
मंगलबार राष्ट्रपति भण्डारीसँग समकक्षी प्रणव मुखर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता गरेका थिए ।
उक्त भेटघाटमा राष्ट्रपति भण्डारीले नेपाल अहिले निर्वाचन गर्ने कार्यमा अघि बढिरहेको र निर्वाचनबाट नै संविधान संशोधन गर्न लागेको कुरा बताएकी थिइन् ।
भारतीय राष्ट्रपति मुखर्जीले चुनाव गराउने नेपालको पहलको सह्राना गरेका थिए । प्रधानमन्त्री मोदीले भने भारतले आफ्नो विकाससँगै नेपालको विकास पनि अघि बढाउन चाहेको बताए ।
भेटघाट कार्यक्रममा आपसी हित, दुई पक्षीय सम्बन्ध सुदृढीकरणलगायतका विषयमा छलफल भएको अधिकारीहरूले बताए ।
राष्ट्रपति भण्डारीसँग उपराष्ट्रपति हमिद अन्सारी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेटलीलगायत नेताले पनि भेटघाट गरेका थिए ।
आज उनी उडिसा जाँदै छन् भने भोलि गुजरात पुग्ने कार्यक्रम रहेको छ । त्यसक्रममा उनले सोमनाथ, द्वारिकाधीश मन्दिर लगायतको तीर्थाटन गर्ने कार्यक्रम रहेको र शुक्रबार नेपाल फर्कने जनाएको छ ।