काठमाण्डौ ,४ वैशाख ।
भारतको ५ दिने राजकीय भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई नयाँ दिल्लीमा भारतीय महिला राज्य मन्त्रीले स्वागत गरेकी छन् ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय महिला तथा बालबालिका विकास राज्यमन्त्री कृष्णा राजले राष्ट्रपति भण्डारीको स्वागत गरेकी हुन् ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा राष्ट्रपति भण्डारी आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेकी थिइन् ।
तर, भारत सरकारले भण्डारीको स्वागतमा राज्यमन्त्रीलाई स्वागतका लागि विमानस्थल पठाएको छ ।
त्यसअघि विमानस्थलमा राष्ट्रपति भण्डारीको स्वागतमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतीय राजदूत मञ्जित सिंह पुरीलगायत पदाधिकारी बिमानस्थल पुगेका थिए ।
राष्ट्रपति भण्डारीले आजै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालसहितका नेतालाई भेट्ने कार्यक्रम छ । साथै, राष्ट्रपति भण्डारीले आज नेपाली दुताबासमा आयोजित कार्यक्रम र रात्रिभोजमा सहभागिता जनाउने कार्यक्रम छ ।
राष्ट्रपति निर्वाचित भएयता भण्डारीको यो पहिलो विदेश भ्रमण हो ।