आफ्नै पार्टीका मधेस केन्द्रित नेताले संविधान संशोधनबिना निर्धा्रित मितिमा निर्वाचन सम्भव नरहेको बताएपछि मधेसप्रति कांग्रेसको धारणा बनाउन नेपाली काग्रेसले बैठक आह्वान गरेको छ ।
मधेसी मोर्चाले विधेयकको विरोध गर्दै आन्दोलनको चेतावनी दिइरहेका बेला सत्तारूढ कांग्रेस भित्रकै मधेसी नेताहरुले मधेसका माग सम्बोधन गर्न नेतृत्वलाई दबाब दिन थालेपछि बैठक डाकिएको सो पार्टीले जनाएके छ ।
कांग्रेसले संविधान संशोधन र निर्वाचनका विषयमा सुझाव लिन प्रदेश नम्बर २ का जिल्ला सभापति, केन्द्रीय सदस्य र सांसदहरूको भोली पार्टी केन्द्रीय कार्यालय, सानेपामा भेला बोलाएको छ ।
भेलामा सभापति शेरबहादुर देउवासहित पार्टी पदाधिकारी उपस्थित हुनेछन् । केन्द्रीय सदस्य फरमुल्ला मन्सुरले भोलीको भेलाले मधेसप्रति कांग्रेसको धारणा बनाउने बताउनु भयो ।
नेताहरुले मधेसको समस्या सुल्झाउन भन्दै सरकारले पछिल्लो पटक दर्ता गराएको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गरेपछि मात्रै चुनावमा जानुपर्नेमा जोड दिएका छन् ।
सत्तापक्ष र मधेसी मोर्चाबीच भएको अनौपचारिक समझदारी विपरीत संशोधन विधेयकमा शब्दावली परिवर्तन भएको भन्दै मोर्चाले आपत्ति जनाएको छ ।
कांग्रेसका मधेस केन्द्रित नेताहरू पनि पछिल्लो विधेयकले समस्या हल नहुने बताउँछन् । पछिल्लो पटक दर्ता भएको विधेयकको नागरिकता र भाषामा शब्दावली परिवर्तन गरिएको मधेसी नेताहरुको गुनासो छ ।
पछिल्लो पटक संविधान संशोधन प्रक्रियामा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई ‘बाइपास’ गरी कृष्णप्रसाद सिटौलालाई प्रवेश गराइएकोमा पनि कांग्रेसका मधेसी नेता असुन्तष्ट देखिएका छन् । समस्या बल्झाउन कांग्रेस स्वयं नै कारक बन्न थालेको आरोपसमेत उनीहरूको छ ।
महोत्तरीका पार्टी सभापति महेन्द्रकुमार राय यादवले पछिल्लो संशोधनमा समझदारी गर्दा पनि मधेसका नेताहरूलाई पठाउनु पर्ने बताउनु भयो ।
मधेसका माग सम्बोधन नगरी निर्वाचनमा जाँदा मधेसमा कांग्रेसको जनाधार खुम्चने तर्क मधेस केन्द्रित नेताहरूको छ । कांग्रेसको निर्वाचन परिचालन समितिले चैत ३१ गते जनकपुरमा आयोजना गरेको सभासमेत प्रतिकूल अवस्था देखिएपछि स्थगित गरिएको थियो ।
कांग्रेस चुनावी सभा स्थगन गरी पार्टीभित्रकै मधेसी नेतासँगको अन्तरक्रियामा जुटेको हो ।
केन्द्रीय सदस्य रामकृष्ण यादव भने मधेसका माग सम्बोधन गरेर एकै चरणमा निर्वाचन गर्नुपर्ने बताउनु भयो ।