काठमाण्डौ , वैशाख १ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानबाट ‘हिन्दुराष्ट्र र राजसंस्था’ हटाउने निर्वाचन आयोगको निर्णयबिरुद्ध थप आन्दोलनको घोषणा गरेको छ ।
राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा आज विहान बसेको पदाधिकारी बैठकले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा शक्ति प्रदर्शन सहित धर्ना दिने सहितका आन्दोलनका थप कार्यक्रम तय गरेको हो ।
बैठकले ‘हिन्दुराष्ट्र र राजसंस्था’ हटाउने निर्णय आयोगले पुनर्विचार नगरेको निष्कर्ष समेत निकालेको छ ।
निर्णय पुनर्विचार गर्न बुझाएको ज्ञापन पत्रको जवाफ नआएको भन्दै निर्वाचन आयोगलाई पर्सी आइतबार स्मारण पत्र दिने, कानुनी उपचार खोज्ने विषयमा कानुन व्यवसायीसँग छलफल गर्ने र ५ गते सबै स्थानीय तहमा आयोगको निर्णयको प्रतिलिपि जलाउने निर्णय भएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।
यस्तै वैशाख ८ गते निर्वाचन आयोगको केन्द्रीय कार्यालयसँगै ७२ जिल्लामा विरोध सभा गर्दै जिल्ला निर्वाचन कार्यालयमा एक घन्टा धर्ना दिने निर्णय भएको पाठकले बताउनुभयो ।
विधानबाट ‘हिन्दुराष्ट्र र राजसंस्था’ हटाएको विरोधमा राप्रपाले यसअघि पनि आयोगमा धर्ना दिने क्रममा भएको झडपमा राप्रपाका थुप्रै नेता कार्यकर्ता घाइते भएका थिए ।