काठमाडौ १ वैशाख।
पार्टी एकिकरणको तयारीमा रहेको मधेशी मोर्चा आवद्ध छ दलको बैठक आज बस्दैछ । भक्तपूरस्थित तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा अपरान्न बस्ने बैठकमा पार्टी एकिकरणको मोडल, संगठनात्मक संरचना लगायतका विषयमा छलफल हुने बताइएको छ ।
एकता घोषणापछि एक वर्षसम्म चक्रिया प्रणालीमा पालैपालो अध्यक्ष चलाउने वा एक जनालाई सर्वमान्य अध्यक्ष बनाएर बाँकी पाँच दलको कार्यकारी अध्यक्ष मण्डल बनाएर जाने भन्ने विकलपमा बैठकमा छलफल हुने सद्भावना महासचिव मनिस कुमारले जानकारी दिनुभयो ।
आगामी वैशाख दोस्रो साता सम्ममा राष्ट्रिय एकता गर्ने घोषणा गरेका संघिय समाजवादी फोरम बाहेकका दलले एकता प्रक्रियालाई मुर्त रुप दिन छलफल गर्ने तयारी गरेका हुन् । केन्द्रिय पदाधिकारी, जिल्ला र भातृ संगठनमा पनि सामुहिक संगठनात्मक ढाँचामा जाने र एक वर्षपछि केन्द्रिय महाधिवेशनले निक्र्योल गर्ने जनाएको छ ।
पार्टी एकता प्रक्रियामा तराई मधेश लोकतान्त्रिक पार्टीका साथै सद्भावना, राष्ट्रिय मधेश सद्भावना पार्टी, फोरम गणतान्त्रिक, तराई मधेश सद्भावना पार्टी र नेपाल सद्भावना पार्टी रहेका छन् ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम भने बाबुराम भट्टाराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकिकरणको तयारीमा रहेकाले मोर्चासँगको एकता प्रक्रियामा सामेल भएका छैनन् ।