एजेन्सी, चैत ३१ ।
युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराती भएका खेलहरुमा स्पेनका रियाल मड्रिड र एथ्लेटिको मड्रिड तथा फ्रान्सको मोनाको विजयी भएका छन् ।
जर्मनीमा भएको क्वाटरफाईनल पहिलो लेगको खेलमा घरेलु टोली बायर्न म्युनिखलाई स्पेनको रियाल मड्रिडले २–१ ले पराजित गरेको हो ।
खेलमा रियाल मड्रिडका क्रिष्चियानो रोनाल्डोले दुई गोल गरेका थिए । बायर्नका अर्टुरो भिडालले पहिलो गोल गरेपनि यसपछि पाएको पेनाल्टी अवसर खेर फालेका थिए ।
च्याम्पियन्स लिग क्वाटरफाईनल पहिलो लेगकै अर्काे खेलमा स्पेनिस क्लव एथ्लेटिको मड्रिडले इंग्लण्डको लेष्टर सिटीलाई १÷० ले हरायो । स्पेनको मड्रिडमा भएको खेलमा एथ्लेटिकोलाई विजयी गराउन एन्टोईन ग्रेजम्यानले निर्णायक गोल गरे ।
यसअघि राती नैं भएको पहिलो खेलमा फ्रान्सको मोनाकोले जर्मनीको बोरुसिया डर्टमण्डलाई उसैको मैदानमा ३–२ ले हराएको थियो । खेलमा पाहुना टोली मोनाकोलाई विजयी गराउन किलियन एम्बापेले दुई गोल गरे । डर्टमण्डका स्वेन बेन्डरले एक आत्माघाति गोल गरेका थिए ।
घरेलु टोली डर्टमण्डका लागि भने ओस्मान डेम्बेले र शिन्जी कागावाले एक एक गोल फर्काएका थिए ।