काठमाण्डौ ,२९ चैत ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले वरीयता बिबाद आफुले पदको लोभमा नभई काग्रेसजन र लोकतन्त्रका लागि चालिएको कदम भएको बताउनु भएको छ ।
बुधवार राति ट्वीट गर्दै निधीले आफू र आफ्नो दललाई मन्त्रिपरिषदमा दोस्रो वरीयतामा राखिनु पहिलो ठूलो दलको नेतामाथि गरीएको अपमान भएको बताउनु भएको छ । उहाले ट्वीटमा लेख्नुभएको छ , म स्पष्ट पार्न चाहन्छु वरीयता मेरो ब्यात्तिगत चाहना वा पद लोलुपता होईन । यो समस्त काग्रेसजन र लोकतन्त्रका लागि मैले चालेको कदम हो ।
उहाँले वरियता स्पष्ठ नभएसम्म आफु मन्त्रीपरिषद बैठकमा सहभागी समेत नहुने बताउनु भएको छ । निधीले वरीयता विबाद नमिलेसम्म मन्त्रिपरिषद् बैठकमा उपस्थित नहुने जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिईसकेको पनि बताउनु भएको छ ।
त्यही अडानका कारण सोमबार र मंगलबारको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित रहेका गृहमन्त्री निधिले मन्त्रिपरिषद् बैठकमा सहभागी नभए पनि गृह मन्त्रालयको जिम्मेवारी र भूमिका प्रधानमन्त्री र मुख्यसचिवसँगको परामर्शमा पूरा गरिरहेको बताउनु भयो ।
वरीयताको विषय राजनीतिक र व्यवहारिक रूपमा पनि महत्वपूर्ण रहेको निधिको भनाइ छ।
यसअघि २००७ सालको परिवर्तनपछि मोहनशमशेर राणा नेतृत्वको राणा–कांग्रेस संयुक्त सरकारमा तत्कालीन गृहमन्त्री बिपी कोइरालालाई दरबारले वरीयताक्रममा बबरशमशेर राणाभन्दा पछाडि राखेपछि कोइरालाले आपत्ति जनाउनु भएको थियो ।
प्रधानमन्त्री दाहालले चैत पहिलो साता राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापालाई दोस्रो वरीयतामा राखेपछि विवाद सुरु भएको हो ।
