काठमाडौ ,२८ चैत्र ।
तामाङ समुदायको धार्मिक तथा साँस्कृति पर्व तेमाल जात्रा आजबाट सुरु भएको छ । दुई दिनसम्म मनाइने यस जात्रा अन्तरगत पहिलो दिन आज काठमाडौको बौद्धमा मेला लाग्दैछ ।
हरेक वर्ष चैत्र पूर्णिमाको अघिल्लो दिन काठमडौको बौद्ध स्तुपा र पूर्णिमाको दिन स्वयम्भूमा मेला लाग्ने गर्दछ । काभ्रेमा पर्ने तेमाल क्षेत्रलाई तामाङ समुदायको उद्गम थलोका रुपमा लिने गर्दछन् ।
परापूर्वकालमा यस जात्रामा तेमाल क्षेत्रका तामाङहरुको बढी सहभागिता रहने गरेकाले यस जात्राको नाम तेमाल जात्रा रहन गएको तामाङ सँस्कृतिविदहरुको भनाई छ ।
तेमाल जात्रामा नेपाल लगायत, भारत, म्यानमार र भुटानका तामाङ समुदाय पनि आउने गर्दछन् । पूणर््िामाको अवसरमा लाग्ने यस जात्रामा आफ्नो मृतक आफन्तको नाममा बत्ति बाल्ने तथा पूजा गर्ने चलन रहको छ ।
तामाङ समुदायमा औंसी र पूर्णिमाको विषेश महत्व रहने गर्दछ । दुई दिनसम्म चल्ने यस जात्रामा तामाङ समुदायको मौलिक पहिचान बोकेको फापरे ह्वाई जुहारी गाउने चलन पनि छ ।