काठमाण्डौ ,चैत्र २६ ।
तिब्बती धार्मिक नेता दलाई लामा शुक्रबार अरुणाञ्चल प्रदेशको तवाङ पुगेका छन् । उनको भ्रमणलाई लिएर चीनले आपत्ति जनाइरहे पनि उनी विवादास्पद भूमी तवाङ पुगेका हुन् । तवाङलाई चीनले आफ्नो भनी दाबी गरिरहेको छ ।
अरुणाञ्चलको दिराङबाट ७ घण्टा सडक यात्रापछि लामा तवाङ पुगेका हुन् । उनी हेलिकप्टरबाट मंगलबार तवाङ पुगेपनि खराब मौसमका कारण हेलिकप्टर ल्याण्ड हुन नसकेपछि फर्किएका थिए । उनी गुवाहटीबाट डिराङ हुँदै तवाङ पुगेका हुन् ।
उनी तवाङको एक गुम्बामा चार रात बसेर मंगलबार फर्किनेछन् । लामाले प्रवचन दिने यिद गा चोइजिन गुम्बा वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
तवाङमा रहेको ३३६ वर्ष पुरानो यो गुम्बा भारतकै सबैभन्दा ठूलो हो भने विश्वकै दोस्रो ठूलो गुम्बा हो । तिब्बतको ल्हासास्थित पोटाला प्यालेसलाई विश्वकै ठूलो बौद्ध गुम्बा मानिन्छ ।
सन् १९५० मा तिब्बतमाथि नियन्त्रण थालेयता चीनले तवाङलाई आफ्नो भूमी दाबी गरिरहेको छ । दलाई लामा सन् १९५९ मा ल्हासाबाट भागेर भारत आएका हुन् । उनी तवाङ हुँदै भारत छिरेका थिए ।
दलाई लामाको तवाङ भ्रमणले दुई भारतसँगको सम्बन्ध बिग्रने चेतावनी चीनले दिंदै आएको छ ।-कान्तिपुर दैनिकबाट