भक्तपुर, २६ चैत ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन दुई चरणमा गर्ने कुरा निर्वाचन नगराउने षड्यन्त्र भएको बताउनु भएको छ ।
नेपाल प्राध्यापक समाजको प्रथम राष्ट्रिय भेलालाई आज भक्तपुरको ठिमीमा सम्बोधन गर्दै उहाँले स्थानीय तहको निर्वाचन देशभर एकै चरणमा गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेले स्थानीय तह निर्वाचन हुने मिति घोषणा भई तयारीसमेत भइसकेको अवस्थामा दुई चरणमा निर्वाचन गर्ने कुरा आत्मसमर्पणवादी सोचको परिणाम भएको आरोप लगाउनु भयो ।
जनसङ्ख्याको आधारमा स्थानीय तह निर्धारण गर्नुपर्ने, निर्वाचन क्षेत्र कायम गर्नुपर्ने र मतदाता नामावली थप गर्नुपर्ने मधेस केन्द्रित दलको माग राष्ट्रिय हितमा नरहेको भन्दै उहाँले मधेस केन्द्रित दलको इसारामा निर्वाचनको मिति सार्न नहुनेमा जोड दिनुभयो ।
ठूला दलहरुले प्रजातान्त्रिक मूल्य र मान्यता विरुद्ध थ्रेसहोल्डको व्यवस्था गरिएको पनि उहाँले बताउनु भयो ।
पछिल्लो समयमा ठूला दलका नेताका कारण नेपालको राजनीतिक क्षेत्र विकृति बन्दै गएकाले संसद्लाई प्राज्ञिक थलोको रुपमा विकास गर्नुपर्नेमा उहाँको जोड थियो ।
सांसद प्रेम सुवालले हालसम्मका सबै सरकार विदेशीको इसारामा चलेको बताउँदै काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाको नाम फरक भए पनि कार्यशैली एउटै भएको बताउनुभयो ।
प्राध्यापकद्वय माणिकलाल श्रेष्ठ, पृथुचरण वैद्य र पत्रकार समाजका अध्यक्ष लक्ष्मण जोशीलगायतले आदर्श समाज निर्माणमा प्राध्यापकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।