काठमाडौँ, २६ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत मधेसी मोर्चा सहितका सबै दललाई मान्य हुनेगरी राष्ट्रिय एकताको संविधान संशोधनको नयाँ प्रस्ताव सदनमा दर्ता गर्ने बताउनुभएको छ ।
रिपोटर्स क्लब नेपालको १९ औँ वार्षिकोत्सवलाई आज राजधानीमा सम्बोधन गर्दै उहाँले सबैलाई मान्य हुने गरी राष्ट्रिय एकताको संशोधन प्रस्ताव दर्ता हुने र यसले मुलुकलाई एकताबद्ध गर्ने बताउनु भयो ।
उक्त प्रस्तावले मधेस, पहाड र हिमाल सबै एकै पटक स्थानीय तहको निर्वाचनमा खुशीसाथ जाने वातावरण बन्ने विश्वास व्यक्त गर्दै उहाँले निर्वाचनको सङ्कल्पमा राष्ट्र अगाडी बढिसकेकाले यसमा कुनै शङ्का नगर्न आग्रह गर्नुभयो ।
स्थानीय तहको निर्वाचनले संविधानलाई गतिशील बनाउनका लागि आवश्यक पर्ने अन्य दुई निर्वाचन एकै पटक मङ्सिरमा बन्ने आधार तयार गर्ने बताउँदै उहाँले स्थानीय सरकार बनेपछि विकासको गति अगाडि बढ्ने स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले सही व्यक्तिलाई सही जिम्मेवारी दिएर अगाडि बढेको अवस्थामा मुलुकको आर्थिक समृद्धि गर्न सकिने भन्दै विद्युत्भार कटौती र सही व्यवस्थापनबाट मुलुकको आर्थिक वृद्धि छ प्रतिशत पुग्ने देखिएको बताउनुभयो ।
दुई छिमेकी मुलुकसँग असल सम्बन्ध कायम गरेर नेपालको विकास गर्न सकिन्छ भन्ने विश्वास आफूमा बढेको बताउँदै उहाँले राष्ट्रिय एकताको अभियानमा सहयोग गर्न सबैमा आह्वान गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अनिवार्य भएको बताउँदै यस अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।
संविधान कार्यान्वयनका लागि तोकिएको समयमा तीन वटै तहको निर्वाचन सकाउनुपर्ने बताउँदै उहाँले राजनीतिक स्थिरतापछि कृषि र पर्यटन क्षेत्रको विकास गरेर समृद्धिको बाटोमा अघि बढ्न सकिनेमा जोड दिनुभयो ।
नेपालका लागि भारतीय राजदूत मन्जीपसिंह पुरीले आर्थिक विकास र समृद्धिको बाटोमा नेपाल अगाडि बढेको उल्लेख गर्दै आगामी दिनमा यसले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले रिपोर्टर्स क्लब नेपालको अनलाइन संस्करणको सुरुवात पनि गर्नुभयो ।