काठमाडौँ, २५ चैत ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलले नै मधेसका जनतालाई अल्मल्याइरहेको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको २९ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफ्नो स्वार्थ अनुरुप ब्याख्या गरेर मधेस केन्द्रित दलले त्यहाँका जनतालाई अल्मल्याउने काम गरेको बताउनु भयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले देशलाई सङ्क्रमकालबाट पार लगाउन तीन तहको निर्वाचन गर्नुको विकल्प नभएकोमा जोड दिनुभयो ।
देशलाई प्रतिकूल अवस्थामा धकेल्ने प्रयास भइरहेको भन्दै ओलीले एमालेले देशलाई पछाडि फर्काउन प्रयासलाई सफल हुन नदिने ठोकुवा समेत गर्नुभयो ।
केही व्यक्तिका कारण देश गरिबी भएको उल्लेख गर्दै उहाँले हिजोको जस्तो चुनौती आजका दिनमा नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो , “पहिलेको जस्तो अबका दिनमा अलिअलि गल्ती गर्नुहुँदैन, देश बनाउनका लागि गति बढाउनुपर्दछ ।”
कार्यक्रममा अध्यक्ष ओलीले संस्कृतिविद् शङ्कर पोखरेललाई नगद रु २५ हजार राशिको जनसांस्कृतिक पुरस्कार–२०७३ र रु १५ हजार राशिको जनसंस्कृति युवा प्रतिभा पुरस्कार युवा नाट्यकर्मी रवि कार्कीलाई प्रदान गरिएको थियो ।