पर्सा, चैत्र २२ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन तोकिएको मितिमा सम्पन्न नभए मुलुक गम्भीर सङ्कटमा पर्नेे चेतावनी दिएका छन् ।
उनले बैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न नभए अन्य निर्वाचनको सम्भावना क्षीण हुँदै उपलब्धिको रूपमा प्राप्त भएका सङ्घीयता लगायतका अधिकारसमेत गुम्ने खतरा रहेको स्पष्ट पारे ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ को वार्षिक क्षेत्रीय सम्मेलन कार्यक्रमलाई सोमबार वीरगञ्जमा सम्बोधन गर्दै उनले उग्र पहाडवाद र उग्र मधेशवादकै कारण राष्ट्रको अखण्डता सङ्कटमा परेको आरोप लगाए ।
उनले दुबै उग्रवादका कारण मधेशी र पहाडी समुदायबीच द्वन्द्व बढाएको र बढ्दै गएको द्वन्द्वले मुलुकलाई बिखण्डनतर्फ धकेलेको बताउँदै उनले तराईमा जनसंख्या र हिमाल, पहाडमा भूगोलका आधारमा प्रतिनिधित्व कायम गर्नुपर्ने विचार व्यक्त गरे । लोकतन्त्रमा जनसंख्या महत्वपूर्ण भएको बताउँदै नेता कोइरालाले जनसंख्यालाई बेवास्ता गरे मुलुकमा द्वन्द्व बढ्दै जाने र अन्त्यमा बिखण्डन हुने विश्वका विभिन्न देशबाट पाठ सिक्नुपर्ने दाबी गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियाले तराईमा चुनाव लागिसकेको बताउँदै चुनावको विरोध गर्ने मधेशी दल सङ्गठन विस्तारसँगै उम्मेदवार छनौटमा लागेको दाबी गर्दै उनले संविधान संशोधन नभए स्थानीय तहको निर्वाचनमा सहभागी नहुने बताउँदै हिँडेका मधेशवादी दल अहिले गाउँ–गाउँमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बनाउँदै हिँडेको टिप्पणी गरेका छन् ।