पोखरा, चैत्र २१ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले जनता र दलहरूबीच रहेका संविधान र निर्वाचनप्रतिको असन्तुष्टि अब निर्वाचनपछि मात्रै सम्बोधन हुने बताएका छन् ।
प्रेस चौतारी नेपाल कास्कीद्वारा आज आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले वातावरण अहिले चुनावमय बनिसकेको र निर्वाचन आयोग पनि बैशाख ३१ गतेका दिन स्थानीय तहको निर्वाचन गर्न तीब्र गतिले अघि बढिसकेकाले सानातिना विवादमा अल्झेर निर्वाचनलाई कोही कसैले अप्ठ्यारो पार्ने काम नगर्न आग्रह गरे ।
उनले भने, ‘अहिलेको समय संविधान संशोधन गर्ने समय होइन, देश र जनताको हितमा छ भने त्यो पछि विचार गरौँला ।’
प्रजातन्त्रको संस्थागत विकास गर्ने आधार खम्बा नै निर्वाचन हो भन्दै उनले जनताका सेवा र सुविधा घरदैलोमा पुर्याउने नयाँ संरचनाअनुसारको स्थानीय तहको निर्वाचनबाट मधेशवादी दल डराएर जनताबाट भाग्लान् जस्तो आफूलाई नलागेको बताए ।
उनले केही वर्षदेखि देशले भोग्दै आएको राजनीतिक अस्थिरताको अन्त्य गर्न निर्वाचनमा कुनै एक दलले स्पष्ट बहुमत पाउनु पर्ने दाबीसमेत गरेका छन् ।