रामकृष्ण ढकाल एकल साँझमा ढकाल संगै झुमे हजारौ दर्शक

रामकृष्ण ढकाल एकल साँझमा ढकाल संगै झुमे हजारौ दर्शक

  • आइतवार, चैत्र २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

कमल सरगम काठमाण्डौ देशकै चर्चित /प्रतिष्ठित म्यूजिक कम्पनि  विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा  विन्ध्यवासिनी फाउन्डेसनको सहयोगार्थ  राजधानीमा शुक्रबार चर्चित गायक रामकृष्ण ढकालको  एकल साँझ सम्पन्न भएको छ । संगीत आश्रम निर्माणका  गर्ने उदेश्यका साथ्  उक्त सांगीतिक  एकल साँझको आयोजना भएको हो । गायक रामकृष्णको यस भन्दा अघिल्ला  साँझ पनि भब्य रुपमा सम्पन्न भएको।थियो ।कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा  सम्पन्न कार्यक्रममा दर्शकहरुको घुइँचोले अझ आयोजकलाई उत्साहित बनाएको थियो ।
[youtube https://www.youtube.com/watch?v=7LOMEvzK79Q]

ढकालले आफुलाई चर्चामा पुर्याएको नयाँ तथा पुराना सुमधुर गीत गएका थिए। उनलाई साथ
दिन  गायिका देविका बन्दना, प्रविशा अधिकारी र जुना प्रसाईं आएका थिए । प्रत्यक्ष संगीतका साथ सम्पन्न सांगीतिक साँझमा ब्याकअप ब्यान्डका रूपमा द भ्वाइसले वाद्यवादनमा सघाएको थियो।  कार्यक्रममा स्वागत मन्तव्यको क्रममा  विन्ध्यवासिनी फाउन्डेसनकि  अध्यक्ष लिना  शर्मा रेग्मीले भन्नु भयो “सहयोगी मनहरु , शुभचिन्तकको साथ र सहयोगका कारणले गीत संगीतका राजा चर्चित गायक  रामकृष्ण ढकाललाई लिएर सांगीतिक साझ प्रस्तुत गर्न सफल भएको अनुभूति गर्दछौ । हामीले यो कार्यक्रम कुनै पनि नाफामूलक उद्देश्यले आयोजना गरेका होइनौं। राज्यले कलाकारलाई व्यवस्ता गरेको  कारण बुढेसकालमा उनीहरुले भोग्ने समस्यालाई समाधान गर्नका लागि संगीत आश्रम निर्माण गर्नका लागि यो कार्यक्रमबाट उठेको सहयोग रकम खर्च गरिनेछ’ । विन्ध्यवासिनी म्युजिक  प्रालिले यस कार्यक्रम भन्दा अगाडी पनि  सत्य–स्वरूप साँझ,बाट १५ लाख सहयोग जुटाएर भक्तराज   आचार्य संगीत प्रतिष्ठानलाइ  सहयोग गरेको थिए भने बिमल डाँगी एकल साझाबाट   स्याङ्जा र डोल्पाका ४ गरिब विद्यार्थीका लागि कक्षा १० सम्मको अध्ययनका लागि सम्पूर्ण जिम्मा लिएको थिए । साथै संगीत व्यवसायी शिव पौडेल तथा र पत्रकार स्व. सूर्यकुमार क्षत्रीको स्वास्थ्य उपचारका लागि सक्दो सहयोग गरेको लिनाले  स्मरण गराईन ।
[youtube https://www.youtube.com/watch?v=5XwVCF9FTJg]

ढकालले आफ्नै आवाजमा रहेको  राष्ट्रिय गीत”बिहान उठ्ने बितिकै”बाट कार्यक्रमको सुरुवात गरेको थिए ।  गायक ढकालले देवेन गिरीको शब्द र राजु सिंहको संगीतमा देश बने पो बोलको देशभक्ति गीत गाउँदा दर्शक भावुक भएका थिए। ‘हामीलाई जहाँ गए पनि नेपाली भेट्यौं भने निकै खुसी लाग्छ। तर, पनि विदेशमा गएको बेला हामीले बोक्ने हरियो पासपोर्टको कारण कहिलेकाहीं दुःख पनि पाइरहेका हुन्छौं। हामी जनता बनेका छौं, तर देश बन्न सकेको छैन। जसका कारण नेपालीभन्दा विदेशमा छुट्टै दर्जाको व्यजहार गरिन्छ’, केही नरमाइला अनुभव शेयर गर्दै रामकृष्णले खुलाए– ‘पछिल्लो समयमा मैले देशप्रेम झल्कने गीत धेरै नै गाएको छु। देशभक्तिका गीत धेरै गाइएको संसारमै शायद हाम्रो देश नै हो। देशभक्तिको गीत गाउनेमा म नै पहिलो स्थानमा पर्छु होला। देशभक्तिका गीतहरु व्यक्तिगततर्फबाट धेरै नै रेकर्ड हुने देश पनि नेपाल नै होला तर पनि देशको राजनीतिक अवस्थामा सुधार आउन सकेको छैन।’ ढकालले द्वन्द्व कालका बखत राजेन्द्र थापाद्वारा रचित मेरो खुकुरीको नौलो व्यथा संगीतबिना केही अंश पनि गाए।

अर्को प्रस्तुतिमा उनले आनन्द अधिकारीको शब्द र न्ह्यु वज्रचार्यको संगीतमा दैव तरो मायाको खेलले बोलको गीतमार्फत् प्रेमिल मनहरुलाई सम्झाए। त्यसै गरी कालीप्रसाद रिजाल र शम्भुजित बास्कोटाको संगीतमा मन पराउने हजार हुन्छन् जुनि काट्ने यौटै हुन्छ बोलको गीत प्रस्तुत गर्दै दर्शकलाई रोमाञ्चित बनाए भने आफैंले अभिनय गरेको फिल्म आशिर्वादको मलाई यो जिन्दगीले कहाँ पुर्यायो पनि गाए। शम्भुजित बासकोटाको संगीतको गीत गाउँदै उनले भने– ‘यो गीत मेरो जिन्दगीमा मेल खाने गीत हो।’

आफ्ना र स्वरसम्राट स्व. नारायण गोपालका गरी डेढ दर्जन गीत प्रस्तुत गर्ने क्रममा गायक ढकालले गीतकार कालीप्रसाद रिजालको शब्द र आलोकश्रीको संगीतको चरीले त छोडेर गैगयो, नवराज लम्सालको शब्द र आफ्नै संगीतको दिलको कुरा नगर निरमाया, राजकुमार बगरको संगीत र ज्ञानबहादुर थापा मगरको शब्दको जुनझैं बनी आयौ बोलका गीतमार्फत दर्शकलाई झुमाएका थिए।

त्यसै गरी भारतीय गायिका लता मंगेसकरसँग उनले गाएको युगल गीत फूल भन्छ फुलिरहुँ प्रविशा अधिकारीका साथमा गाएका थिए। ‘उहाँजस्तो चर्चित गायिकालाई भेट्ने अवसर पाइन्छ कि पाइँदैन भन्ने लागेको थियो। तर, उहाँसँग गीत नै गाउन पाएँ’ –उनले भने। गायिका प्रविशा अधिकारीले आफू जन्मनुभन्दा अघिदेखि नै संगीतमा करिअर थालेका गायक ढकालसँग स्टेज शेयर गर्न पाउँदा भाग्यमानी महसुस गरिरहेको बताइन्। स्वरसम्राट नारायण गोपालको पथ पछ्याउँदै बाल्यकालबाटै उनका गीत गाएर करियर बनाएका गायक ढकालले उनलाई सम्झने काम भने कार्यक्रमको अन्ततिर मात्र गरे। त्यस क्रममा उनले प्रविशाको साथमा कालीप्रसाद रिजालको शब्द र नारायण गोपालको संगीतमा माया गर्नेको चोखो माया पनि देखियो गाएर सबैलाई रोमाञ्चित बनाए। त्यसै गरी रमण घिमिरेको शब्द र शम्भुजित बास्कोटाको संगीतमा रिसाउँदा नि आफ्नै खुसी हुँदा नि आफ्नै गाए।

३ घण्टाभन्दा बढी चलेको कार्यक्रम २ भागमा विभाजित गरिएको थियो। जसअन्तर्गत पहिलो भागमा सुमधुर गीतहरु प्रस्तुत गरिएका थिए भने दोस्रो भागममा फास्ट ट्रइकहरुलाई समावेश गरिएको थियो। उनले दोस्रो चरणमा छोडी गए पाप लाग्ला फिल्ममा समावेश छोडी गए पाप लाग्ला र संगममा समावेश कहिले वारि कहिले पारि गाएका थिए। त्यस्तै नवीन के भट्टराईको संगीत र रवि लामिछानेको शब्दमा पपशैलीको गीत तिम्रो आगमनले फेरि गाएर नौलो स्वाद दोहोर्याएका उनले यही कार्यक्रममार्फत् गायिका देविका बन्दानासँग पहिलोपटक लाइभ म्युजिकमा स्टेज शेयर गर्दै कहीं मिलन कहीं विछोड फिल्ममा समावेश मलाई लुकीछिपी भए पनि माया गर्नु है बोलको गीत गाएर दर्शक भुलाए। ‘रामकृष्ण भाइ १२ वर्षको उमेरदेखि मैले चिनेको, त्यो बेला म टिनएजमा थिएँ। त्यो बेला मेरो आफ्नै गीत थिएन विज्ञापनहरुमा गाउँथे। तर, त्यो बेला रामकृष्ण भने सुपरस्टार भइसक्नुभाथ्यो’, देविकाले सम्झिइन्– ‘हामीले आधुनिक गीत पनि सँगसँगै लिएर आयौं र फिल्ममा पनि सँगै प्रवेश गरेका हौं।’ ढकालले अन्तिममा उनले आफूले गाएका फरक रमाइला धारका गीतहरु प्रस्तुत गरेर कार्यक्रमलाई रोमाञ्चक बनाएका थिए। न्ह्यु वज्रचार्यको संगीत र दुर्गालाल श्रेष्ठको शब्दमा नजिक आउनुमा, नारायण गोपालको मलाई नसोध कहाँ दुख्छ घाउ बोलको गीत गाएका थिए। त्यसै गरी सिन्दुर फिल्मको लुकुँलुकुँ लाग्यो मलाई बोलको गीतमा उनलाई गायिका जुना प्रसाईंले साथ दिएकी थिइन्। शम्भुजित बास्कोटाको संगीतमा रहेको छिटको गुन्यु तिमीले लगाउँदा बोलको गीतमा पनि उनले जुनाको साथ पाएका थिए।

पहिलो र दोस्रो चरण गरी उनले २१ गीत प्रस्तुत गरेका थिए। कार्यक्रम नरेश भट्टराई र दिनेश डीसीले सञ्चालन गरेका थिए।

गायक ढकालले आफ्नो जीवनका विभिन्न भोगाइहरु दर्शकलाई शेयर गर्दै कार्यक्रमलाई चाख लाग्दो बनाइरहेका थिए। कार्यक्रममा उनको पछिल्लो एल्बम आवरणमा समावेश दुई गीत म हुरीमा दियो बलेको देख्छु तथा नेपाली गीत–संगीतका अमर साधकहरुको सम्झनामा तयार पारिएको जानेले त छोडेर गैहाले बोलका गीतहरुको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो। त्यसै गरी एल्बम आवरण एल्बम बिक्रीबाट उठेको नगद २५ हजार रुपियाँ सडक बालबालिकाको सहयोगार्थ चितवनमा रहेको प्रहरी नागरिक अभियानका लागि त्यसका संरक्षक डीआईजी देवेन्द्र सुवेदीलाई विन्ध्यवासिनी म्युजिकका प्रबन्ध निर्देशक सुवास रेग्मीले हस्तान्तरण गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी