काठमाडौ ,२० चैत्र ।
मधेशी मोर्चालाई पनि सहमतिमा ल्याएर स्थानीय तह निर्वाचनमा सहभागी गराउन निर्णायक छलफलमा जुट्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले आजपनि दलीय छलफललाई निरन्तरता दिदै हुनुहुन्छ ।
संविधान संशोधन मार्फत मोर्चाको माग सम्बोधन गरी निर्वाचनमा जुट्ने कसरतमा रहनु भएका प्रधानमन्त्री दाहालले आज सत्तापक्ष र प्रतिपक्षी दलका शिर्ष नेताहरुसँग छलफल गर्ने तयारी गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
उहाँले आज सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर समान धारणा तय गरी आजै मोर्चासँग छलफल गर्ने तयारी गर्नुभएको छ ।
यद्यपी छलफलका लागि समय भने टुङ्गो लागिसकेको छैन । मोर्चाले उठाएको सिमांकनका विषयलाई शक्तिशाली अयोग मार्फत टुङ्ग्याउने र बाँकी विषयमा संशोधन गरी अघि बढ्ने विषयमा मोर्चा र प्रतिपक्षी एमालेसँग छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ ।
पछिल्ला बैठकहरु सहमतिका नजिक पुगेको भनिएपनि मधेशी मोर्चाले स्थानीय तह र मतदाता नामवली थप्ने नयाँ सर्त अघि सारेपछि राजनितिक सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।