काठमाडौँ, १५ चैत ।
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज तिब्बत परिषद्का अध्यक्ष क्विइ जिनसँग भेटवार्ता गर्नुभएको छ ।
सिचुवान प्रान्तको राजधानी छन्दुबाट आज बिहानै ल्हासा पुग्नुभएका उहाँले परिषद्का अध्यक्ष जिनसँग द्विपक्षीय सम्बन्धबारे छलफल गर्नुभएको हो ।
उक्त छलफलमा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि तिब्बतस्थित नेपालका महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध र यसका लागि महावाणिज्यदूतावासले निर्वाह गरेको भूमिकाका बिबिध पक्षबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभयो ।
ल्हासा विमानस्थल पुग्दा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई महावाणिज्यदूत कार्कीसहित महावाणिज्यदूतावासका उच्च पदस्थ कर्मचारीले स्वागत गरेका थिए ।
प्रधानमन्त्री दाहालले आजै चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासास्थित ऐतिहासिक पोताला दरबारको अवलोकन गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहाल भोली बिहान स्वदेश फर्कने कार्यक्रम छ ।