काठमाडौं ,चैत्र १५ ।
एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा बंगलादेशले नेपाल सामु २ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कक्सबजारस्थित शेख कमल अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बंगलादेशले निर्धा्रित ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनायो ।
३३ रन जोड्दा ४ विकेट गुमाएको बंगलादेशका लागी राष्ट्रिय टोलीका अनुभवी ब्याट्सम्यान नासिर हुसेन र मोमिनुल हकले उत्कृष्ट पारी खेलेर ईनिङ सम्हालेका थिए ।
कप्तान हक र हुसेनले पाँचौ विकेटका लागि ७८ रनको साझेदारी गर्दै बंगलादेशलाई गतिलो आधार तयार पारेका थिए । हक ६१ रनमा आउट भए भने हुसेनले नटआउट १ सय ९ रन जोडे ।
नवौं विकेटका लागि हुसेनले अबुल हसन राजुसँग ५५ वलमा ७६ रनको साझेदारी गरेका थिए । राजु २९ रनमा आउट भए । नेपाली वलरले अन्तिम १० ओभर ८२ रन दिएका थिए ।
अविनाश कर्णले तीन र मेहबुब आलमले एक विकेट लिएपछि एक समय बंगलादेशी इनिङ्स संकटमा परेको थियो ।
पहिलो ओभरको अन्तिम वलमा अज्मिर अहमदलाई शुन्य रनमा आउट गराएका कर्णले आफ्नो दोस्रो ओभरमा मोहमद सेफ हसनलाई ७ र तेस्रो ओभरमा एमडी मिथुनलाई शुन्य रनमा पवेलियनको बाटो देखाएका थिए ।
कर्णले आफ्नो पहिलो, दोस्रो र तेस्रो ओभरमा लगातार एक एक विकेट लिदै बंगलादेशलाई दवावमा राखेका थिए । यस्तै नजमुल हुसेन सान्तोलाई आलमले ४ रनमा बोल्ड गरेका थिए ।
नेपालले अब केहिबेरमा जवाफि व्याटिङ गर्ने छ ।