काठमाडौ ,१४ चैत्र ।
बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले पाकिस्तानसामु १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ढाकास्थित शेख कमल अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पाकिस्तानले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ८० रन बनाएको हो ।
भरपर्दा ब्याट्सम्यानहरु ज्ञानेन्द्र मल्ल, सागर पुन र दिपेन्द्र सिंह ऐरीलाई सस्तैमा गुमाएको नेपालको इनिङस् सुनिल धमला र शरद भेषावकरले सम्हालेका थिए । धमला ४३ र शरद ३८ रनमा आउट भए ।
दिपेन्द्र १४, सागर ४ र कप्तान मल्ल ३ रनमा आउट भएपछि नेपाली इनिङस् एक समय धरमराएको थियो । १ सय २६ वलको सामना गरेका सुनिलले ४३ रन जोड्दा ३८ रन जोड्न शरदले ५८ वलको समना गरेका थिए ।
यस्तै बिनोद भण्डारी २२ रन जोडे भने महबुब आलम गोल्डेन डक आउट भए । अन्तिम ओभरमा आरिफ शेख १६ रनमा आउट भए भने सन्दिप लामिछाने पनि गोल्डेन डक आउट भए ।
पछिल्लो पटक नेपाली टिम पाकिस्तानको २३ बर्ष मुनिको टोलीसंग ९ विकेटले पराजित भएको थियो । नेपाल रहेको समुह एमा पाकिस्तान सहित बंगलादेश र हङकङ समावेश छन ।
एसियाली क्रिकेट परिषद एसीसीको आयोजनामा सञ्चालित प्रतियोगिता ४ बर्षपछि बंगलादेशमा हुदैछ । प्रतियोगितामा एसोसियट राष्ट्रको सिनियर टिम सहित टेष्ट राष्ट्रका २३ बर्ष मुनिका खेलाडीको सहभागिता रहनेछ ।