काठमाडौ १३ चैत्र ।
विश्वकप छनौट अन्तरगत गएराति सम्पन्न खेलमा पोर्चुगल विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘बी’ को खेलमा पोर्चुगलले हंगेरीलाई ३–० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले दुई तथा एन्ड्रे सिल्भाले एक गोल गरे । ३२ औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगललाई सुरुवाति अग्रता दिलाए ।
त्यसको चार मिनेटपछि कप्तान रोनाल्डोले व्यक्तिगत पहिलो गोल गरेपछि पहिलो हाफमा नै २–० को अग्रता लिएको पोर्चुगलका लागि ६५ औं मिनेटमा रोनाल्डोले पुनः दोस्रो गोल गर्दै ३–० को जित दिलाए ।
रोनाल्डोले युरोपियन क्षेत्रको छनौटको लगातार चौथो खेलमा गोल गरेका हुन् । पोर्चुगलले समूह ‘बी’ को पछिल्ला चार खेल जितेका छ र त्यसमा १७ गोल गरेको छ ।
समूह ‘बी’ अन्तर्गत गएराति नै भएको अर्को खेलमा स्वीट्जरल्याण्डद्धारा लात्भियालाई १–० ले पराजित भएको छ । स्वीट्जरल्याण्डको जितमा ड्रमिकले ६६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि समूहको शीर्ष स्थानमा रहेको स्वीट्जरल्याण्डको पाँच खेलबाट १५ अंक भएको छ भने दोस्रो स्थानको पोर्चुगलको १२ अंक छ ।
यस्तै समुह ए अन्तरगतको खेलमा फ्रान्स विजयी भएको छ । समूह शीर्ष स्थानमा रहेको फ्रान्सले लग्जेम्बर्गलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा फ्रान्सलाई जिताउन ओलिभर जिरउडले दुई तथा एन्टोनी ग्रिजम्यानले एक गोल गरे भने लग्जेम्बर्गका लागि जोएचिमले एक गोल फर्काए ।
जितपछि समूह ‘ए’ को शीर्ष स्थानमा रहेको फ्रान्सको पाँच खेलबाट १३ अंक भएको छ भने दोस्रो स्थानको स्वीडेनको १० अंक भएको छ ।
यसैबीच विश्वकप छनोट अन्तरगत गएराति नै भएको समुह एचको खेलमा बेल्जियम र ग्रीसले ११ को बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि बेल्जियमको पाँच खेलबाट १३ अंक भएको छ भने दोस्रो स्थानको ग्रिसको ११ अंक छ ।