काठमाडौ १२ चैत्र ।
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज हाइनान प्रान्तमा आयोजित बोआओ फोरम फर एसिया सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुभएको छ ।
दक्षिण एसियाली राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख सहभागी सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गर्दै उहाँले अतिकम विकसित राष्ट्रलाई भन्सार सहजीकरण गरिदिन विकसित राष्ट्रसमक्ष आग्रह गर्नुभएको छ ।
नेपालजस्ता भूपरिवेष्ठित मुलुकलाई ड्युटी फ्री, लचिलो व्यापार प्रक्रिया, क्षमतायुक्त व्यापारको वातावरण, सहज पारवहन, लगायतमा सहुलियत दिनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।
एशिया विश्व अर्थतन्त्रकै शक्ति केन्दको रुपमा विकास भइरहेकाले विश्वव्यापीकरणलाई एशियाली मोडल बनाएर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले विश्वव्यापीकरणले कुनैपनि मुलुकको विकास, प्रगति तथा आर्थिक समृद्धिलाई जोड दिने बताउनु भयो ।
विश्वव्यापीकरण र स्वतन्त्र व्यापारले विश्वलाई नै समृद्ध बनाएको भन्दै उहाँले विविध चुनौतीका कारण एसियाली मुलुक अझै लाभान्वित हुन नसकेको बताउनुभयो । विश्व व्यापार नेपाल जस्ता मुलुकको लागि विकासको इन्जिन भएको दाहालको भनाई थियो ।
विश्वव्यापीकरणमा जाने प्रशस्त मौका हुँदाहुँदै पनि नेपाल लगायत अझै थुप्रै मुलुकहरु पछाडि परेकोले आपसमा सहकार्य तथा समन्वय गरी अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । नेपालमा सम्भावना रहेका हाइड्रो पावर तथा पर्यटनमा लगानी गर्न समेत उहाँले एसियाली लगानी कर्तालाई आग्रह समेत गर्नुभयो ।
नेपाल कयौँ राजनितिक चुनौतीलाई पार गर्दै भर्खरै मात्रै आर्थिक समृद्धि एवं परिवर्तनतर्फ अग्रसर भइरहेको भन्दै अबको एजेन्डा आर्थिक विकासकेन्द्रित हुने दाहालले बताउनुुभयो ।