चैत ८, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले वैशाख ३१ का लागि निर्धारण गरेको चुनाव हुन्न कि भनेर शंका नगर्न आग्रह गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका दाहालले सिंगो देश चुनावमा जुटिसकेको भन्दै चुनाव सफल पार्न सबैलाई आ–आफ्नो ठाउँवाट जुट्न आग्रह गर्नुभयो ।
सिंहदरवारमा आज बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले मधेश र जनजातिका मुद्धा सम्बोधन गर्न सरकार गम्भीर रुपमा लागिपरेको भन्दै सिमाकंनलाई थाती राखेर संविधान संशोधन प्रक्रिया अघि बढाउान पहल भइरहेको बताउनु भयो ।
साथै दाहालले आफ्नो आसन्न चीन भ्रमणले दुई देशबीचको सम्वन्धलाई अझै सुमधुर बनाउने बताउनु भयो । भ्रमणका क्रममा नयाँ समझदारी विकास गर्न उच्च स्तरमा महत्वपूर्ण छलफलहरु हुने उहाँले बैठकमा जानकारी गराउनु भयो ।
बैठकमा बोल्दै सांसदहरुले सरकार गठनपछि पार्टी संसदीय दलको बैठक बस्न नसकेको भन्दै बैठक नियमित गर्न माग गरेका थिए । माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएपछि बसेको यो नै पहिलो संसदीय दलको बैठक हो ।
यस्तै बैठकमा पार्टी र स्थानीय तहको निर्वाचन र संसद् चालु अधिवेशनका विषयमा सातै प्रदेशका प्रदेश संयोजकले आआफ्ना धारणा राखेका थिए ।
संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले पार्टीभित्र देखिएका समस्या, चुनौतीका साथै सांगठनिक अवस्थाका बारेमा बैठकमा छलफल भएको जानकारी दिनुभयो । बैठक पुनः पर्सी बिहान ८ बजे बस्ने गरी स्थगित भएको छ ।