काठमाडौं ,चैत्र ८ ।
सरकारले विभिन्न मुलुकमा राजदुतका लागि सिफारिस गरेका १२ मध्ये ७ जनाको संसदीय सुनुवाई सकिएको छ । संसदीय सुनुवाई विशेष समितिले समितिले आज ओमानका लागि प्रस्तावित शर्मिला पराजुली ढकाल, इजरायलका लागि प्रस्तावित निरञ्जनकुमार थापासँग सोधपुछ गरेको छ ।
यस्तै कतारका लागि प्रस्तावित रमेश कोईराला, गणतन्त्र कोरियाका लागि प्रस्तावित अर्जुन जंगबहादुर सिंह, डेनमार्कका लागि प्रस्तावित युवराज लम्साल र जापानका लागि प्रस्तावित प्रतिभा राणाको सुनुवाइ पनि आज सकिएको छ । पहिलो दिन हिजो अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत लक्की शेर्पासँग समितिले उजुरीबारे सोधपुछ गरेको थियो ।
भोली विहान १० बजे बस्ने बैठकमा श्रीलंकाका लागि प्रस्तावित विश्वम्भर प्याकुरेल, बहराईनका लागि प्रस्तावित पदम सुन्दास, बंगलादेशका लागि प्रस्तावित चोपलाल भुषाल, म्यानमारका लागि प्रस्तावित भीमकृष्ण उदास र साउदी अरेबियाका लागि प्रस्तावित महेन्द्रप्रसाद सिंह राजपुतको सुनुवाई हुने समिति सभापति भानुभक्त ढकालले जानकारी दिनुभयो ।
बैठकमा उजुरी सहित प्रस्तुत भएका समिति सदस्यले सिफारिसका क्रममा आलोचित बनेकी शर्मिला पराजुलीलाई राजदूत नियुक्त भएपछि नेपाली कामदारको हकहीतका लागि हुने कामको फेहरिस्त मागेका थिए ।
जवाफमा पराजुलीले आफु म्यानपावर ब्यवसायी नभएको दावी गर्दै श्रम विभागबाट ल्याएको पत्र समेत प्रस्तुत गर्नुभयो । इजरायलका लागि प्रस्तावित राजदूत थापाले समेत आपसी हित र द्विपक्षीय सम्बन्ध विस्तारमा आफ्नो ध्यान केन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।