काठमाडौं, ७ चैत्र । व्यवस्थापिका संसदको सोमबारको बैठक पनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बहिस्कार गर्यो । संविधान संशोधनको विषयलाई अगाडि बढाउनु पर्ने माग राख्दै यस अगाडी पनि कयौं संसद बैठकहरु बहिष्कार गर्दै आएको मधेशी मोर्चाले आजको बैठकको कार्यसूचीमा समेत संविधान संशोधनको विषयलाई नपारिएको भन्दै आजको बैठक पनि बहिष्कार गरि बाहिरिएका हुन् ।
बैठक शुरु हुने वित्तिकै सभामुखसँग समय मागेर बोल्दै मधेशी मोर्चाको तर्फबाट नेपाल सद्भावना पार्टीकी सांसद डिम्पलकुमार झाले आफ्नो धारणा राखिसके पछि मोर्चामा आबद्ध दलका सांसदहरुले नाराबाजी गर्दै बैठकबाट बाहिरिएका थिए ।
मोर्चाको तर्फबाट धारणा राख्दै सांसद झाले आफूहरुको आन्दोलनमा दमन हुँदा तराईमा अहिले दिनहुँजसो सोझा जनताहरु मारिनेक्रम जारी रहेको भन्दै वर्तमान प्रचण्ड सरकारलाई धेरैनै आशावादी भएर सरकार गठन हुँदा सहयोग गरेता पनि अहिले सरकारले आफूहरुलाई वेवास्ता गरिरहेको बताइन् ।
सांसद झाले संविधान जारी हुँदाको बखतमा आफूहरुले हस्ताक्षर नगरे तापनि अहिले आएर संशोधन मार्फत संविधानलाई सर्वस्वीकार्य बनाउन माग गर्दा पनि त्यो मागलाई उपेक्षा गरिएको भन्दै दुःख व्यक्त गर्दै आफूहरु राष्ट्र नभएको र सहकार्य गरेर नै अगाडि बढ्न चाहिरहेको प्रष्ट पारेकी थिइन् ।
यसैबीच व्यवस्थापिका संसदको आजको बैठकमा पनि विभिन्न राजनीतिक दलका सांसदहरुले शुन्य तथा विशेषमा बोल्दै सभामुख मार्फत समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।
सोमबारको संसद बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अहिलेका वर्तमान प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दललाई साथमा लिएर अगाडि बढ्न नसकेको जस्तो देखिएको र प्रतिपक्षी दल पनि हामी बाहेक अरु कोही पनि छैन भन्दै अन्य दलको आलोचना गर्दै हिंडिरहेको आरोप लगाएका छन् । सांसद खतिवडाले केही दल अरुको अस्तित्व स्वीकारै नगर्ने र मधेशीवादी दल त्यो कुरा नभए मान्दै मान्दैनौं भन्ने अडान राख्नाले नै अहिले निर्वाचनको वातावरण बन्न नसकिरहेको स्पष्ट पारेका छन् ।
मधेशी मोर्चाले संसदको तलब र भत्ता बुझ्ने अनि संविधान कार्यान्वयन गर्ने कुरामा चाहिं बहिष्कार गर्ने काम गर्न नमिल्ने तर्क राख्दै सांसद खतिवडाले कार्यपालिका र न्यायपालिकाबीच समन्वय हुन जरुरी रहेको औंल्याएका छन् ।
त्यसैगरी विशेष समयमा बोल्दै नेकपा(एमाले)का सांसद भिम रावलले एमालेको जनताको माझमा जाँदा एमालेको मेची–महाकाली अभियानलाई कसैले अराजकता देख्नु लोकतान्त्रिक चरित्र नभएको स्पष्ट पारेका छन् । एमालेका उपाध्यक्ष समेत रहेका रावलले १९५० को सन्धी, सीमा लगायत विषयमा हुने भनिएको नेपाल र भारत बैठकलाई सरकारले स्थगित गर्नुको पछाडिको रहस्य के हो भनी शंका समेत व्यक्त समेत गरेका छन् ।
त्यसैगरी विशेष समयमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले यदि कसैले मधेशीलाई लम्पसारवादको आरोप लगाउने हो भने भारतसँग कुनै पनि बेला भएको सन्धी र सम्झौतामा मधेशी या थारु समुदायका कुनै व्यक्तिले हस्ताक्षर गरेको इतिहास अहिलेसम्म नभएको स्पष्ट पार्दै अहिले पहाडीय अतिराष्ट्रवाद र मधेशी अतिवादी सोचले गर्दा समस्या उत्पन्न भैरहको बताएका छन् ।
विशेष समयमा सांसदहरु कमला विश्वकर्मा, गीता क्षेत्री, अनुराधा थापामगर, मीना पुन, लक्ष्मण राजवंशी, नारायणबहादुर कार्की, रविन्द्र अधिकारी, सूर्य प्रकाश वालाराई लगायतले धारणा राखेका थिए ।