काठमाण्डौ , ७ चैत । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले कुनै एक राजनीतिक दलले निर्वाचनमा भाग नलिँदैमा निर्वाचन नरोकिने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले स्थानीय तहको निर्वाचन रोक्नु पर्ने कुनै कारण नभएको बताउनु भयो ।
निर्वाचनमा भाग लिन नलिने त्यो पार्टीको इच्छाको कुरा भएको भन्दै उहाँले बीस वर्षदेखि हुन नसकेको निर्वाचनमा सहभागी हुन पाउने भएपछि जनता उत्साहित देखिएको धारणा राख्नुभयो ।
उहाँले सङ्घीयता चाहने दल संयुक्त मधेसी मोर्चाले नै सङ्घीयताको विरोध गरेको उल्लेख गदै भर्खर गठन भएको स्थानीय तहको कार्यालय तोडफोड गर्नु ठीक नभएको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रीय सदस्य डा रामशरण महतले निर्वाचन र संविधान संशोधन सँगसँगै लैजानुपर्ने बताउनुभयो ।
उहाँले निर्वाचनमा मधेसी मोर्चालाई पनि सहमत गराएर लैजानुको विकल्प नभएको पनि बताउनुभयो ।
अहिले स्थानीय तहमा विवाद सिर्जना भए पुरानै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने उहाँको भनाइ थियो ।