काठमाडौ ६ चैत्र ।
राप्रपा अध्यक्ष समेत रहनु भएका उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचनमा मधेसी मोर्चालाई पनि सहभागी हुन आह्वान गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अहिले सहमति हुन सक्ने विषयमा सहमति गर्न र अन्य विषयमा पछि सहमति गर्नेगरी मध्यमार्गी बाटो अपनाएर निर्वाचनमा सहभागी हुन मोर्चालाई आह्वान गर्नुभएको छ ।
आधुनिक नेपालको निर्माणपछि स्थानीय सरकारको वास्तविक अवधारणा अनुरुप निर्वाचन हुन गइरहेको बताउँदै उपप्रधानमन्त्री थापाले निर्वाचन आयोग युद्धस्तरमा निर्वाचनको तयारीमा जुटेको र दलहरु निर्वाचनतर्फ अग्रसर भइरहेको अवस्थामा मधेसी मोर्चालाई अलग नहुन आग्रह गर्नुभयो ।
स्थानीय तहको संख्य, आकार परिवर्तन मात्रै नभई नयाँ संरचनानुसार स्थानीय तह बढी अधिकार सम्पन्न भएको उहाँको भनाई छ । वैशाख ३१ गते हुने निर्वाचन सम्पन्न गर्न सरकारले पनि तयारी तीव्र रुपमा गरेको उल्लेख गर्दै उहाँले निर्वाचन निर्धारित समयमै हुने दावी गर्नुभयो ।