ललितपुर, ५ चैत । चीनको सछुवान प्रान्त शिक्षा विभागको संयोजन तथा अरनिको समाजको सहसंयोजनमा चार्मिङ सछुवान एजुकेशन एक्स्पो शनिवार सम्पन्न भएको छ । सो एक्स्पोको शुभारम्भ गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले नेपाल र चीनवीचको सम्बन्ध प्राचिन कालदेखि प्रगाढ रहेको बताए ।
नेपाली कलाकार अरनिकोले चीनमा वास्तुकलाको विकासमा पुर्याएको योगदान र नेपालको सामाजिक, आर्थिक, शैक्षिक, पूर्वाधार विकास लगायतका क्षेत्रमा चीनले दिएको सहयोग तथा समर्थनले दुई मुलुकबीचको सम्बन्धलाई भावनात्मक रुपमा विकसित गरेको समेत बताए ।
नेपाल सरकार एक चीन नीतिप्रति प्रतिवद्ध रहेको भन्दै प्रजिअ काफ्लेले सोही अनुसारको शान्ति सुरक्षा नेपालले मिलाएको पनि जानकारी दिए । नेपालको शैक्षिक विकासका लागि चीन सरकारले विभिन्न विषयहरुमा छात्रवृत्ति उपलब्ध गराईरहेको बताउँदै प्रजिअ काफ्लेले नेपालको शैक्षिक विकासका लागि एक्स्पो महत्वपूर्ण हुने बताए ।
एक्स्पो सुभारम्भ समारोहलाई सम्बोधन गर्दै नेपालस्थित चिनिया राजदूतावासका साँस्कृतिक विभागका प्रमुख चाङ पिनले चीन सरकारले ल्याएको वान वेल्ट, वान रोड नीति अन्तर्गत नेपालमा पनि विभिन्न कार्यक्रमहरु भैरहेको भन्दै त्यस नीतिले नेपालको शैक्षिक क्षेत्रको विकासमा पनि सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
हाल चीनमा ३ हजार नेपाली विद्यार्थीहरु चीन सरकारको छात्रवृत्ति र नीजि खर्जमा अध्ययनरत रहेको जानकारी दिँदै उनले हाल नेपालका विभिन्न ६५ वटा विद्यालयहरुमा ७५ जना चिनिया भोलेन्टियर शिक्षकहरु भाषा शिक्षणमा रहेको बताए । वि.सं.२०७२ को महाभूम्प अघि नेपाल भ्रमण गर्ने चिनिया पर्यटकहरुको संख्या १ लाख ४० हजार रहेको तथ्याङ्क उल्लेख गर्दै चाङ पिनले नेपाल आउने चिनिया पर्यटकहरुले नेपालको पर्यटन क्षेत्रको विकाससँगै नेपालीहरुमा चिनिया भाषाको महत्व वारेमा पनि जानकारी गराएको बताए । साथै साँस्कृतिक विभागका प्रमुख चाङ पिनले एक्स्पोको माध्यमबाट बढी भन्दा बढी नेपालीहरुलाई चीनमा निःशुल्क रुपमा विभिन्न विषयहरुमा अध्ययन गर्ने अवसर समेत प्राप्त हुने बताए ।
कार्यक्रममा चीनको सछुवान प्रान्तस्थित शिक्षा विभागका उपप्रमुख वाङ सुङ्चियानले चीन र नेपाल हिमाल, पहाड र नदीहरुले जोडिएका छिमेकी राष्ट्रहरु भएको बताए । सछुवान प्रान्त नेपालबाट एकदमै नजिक रहेको बताउँदै उपप्रमुख वाङले हालका वर्षहरुमा सछुवान प्रान्त र नेपालबीच स्वास्थ्य, चिकित्सा, शिक्षा, संस्कृति आदि क्षेत्रमा प्रसस्त मात्रामा सहयोगका कार्यक्रमहरु सञ्चालन भैरहेको जानकारी दिए ।
सम्बोधनका क्रममा उपप्रमुख वाङले सछुवान प्रान्त पश्चिम चीनको सवैभन्दा धनी र हजारौं वर्षको इतिहास बोकेको विविध विशेषतायुक्त प्रान्त भएको र सो प्रान्तको शैक्षिक इतिहास पनि दुई हजार वर्ष पुरानो भएको बताए । सछुवान प्रान्तको शैक्षिक गतिविधि प्रस्तुत गर्दै उपप्रमुख वाङले सन् २०१६ मा सछुवानका २४ हजार विद्यालय तथा विश्व विद्यालयहरुमा १ करोड ८४ लाख भन्दा बढि विद्यार्थीहरुले अध्ययन गरेको आँकडा प्रस्तुत गर्दै शिक्षामा सुधार, समानता, गुणस्तर वृद्धि आदि कुरामा शिक्षा विभाग गम्भिर भएको समेत बताए ।
साथै उपप्रमुख वाङले विश्वका १ सय ४० देशका झण्डै दश हजार विद्यार्थी सछुवानमा अध्ययनरत रहेको जानकारी दिँदै नेपाली विद्यार्थीहरुलाई अध्ययनका लागि सछुवानमा स्वागत गर्ने बताए ।
कार्यक्रममा बोल्दै अरनिको समाजका अध्यक्ष डा.सर्वोत्तम श्रेष्ठले अरनिको समाज शिक्षा र स्वास्थ्य क्षेत्रको माध्यमबाट नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरमा विकसित गर्न स्थापना कालदेखि नै क्रियासिल रहेको जानकारी दिए ।
चीनमा ३ वर्ष यतादेखि चीनका छिमेकी मुलुकहरुसँग सहकार्य गर्ने र सहयोग गर्ने किसिमको ठूलो कार्यक्रम निरन्तर चलिरहेको र यो शैक्षिक मेला पनि त्यसैको एक भाग भएको बताउँदै शैक्षिक मेला मार्फत उपलब्ध गराईने १०० वटा छात्रवृत्ति प्राप्त गरि उच्च शिक्षा हासिल गर्ने अवसरबाट लाभ उठाउन पनि उनले सहभागीहरुलाई आग्रह गरे ।
मदन स्मारक उच्च मा.वि.ललितपुरमा सम्पन्न एक दिने सो एक्स्पोमा चीनको सछुवान प्रान्तका १६ वटा विश्व विद्यालयहरुको सहभागीता रहेको थियो ।
