काठमाडौ ५ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगको पछिल्लो निर्णय फिर्ता लिन आग्रह गरेको छ । राजतन्त्र सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र भन्ने शब्दावली पार्टी विधानबाट हटाउने निर्णय नसच्च्याए आन्दोलनमा जाने राप्रपाले चेतावनी दिएको छ ।
राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा विहान बसेको पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको आकस्मिक बैठकले निर्णय तत्काल नसच्चिए आन्दोलनमा जानुको बिकल्प नभएको निश्कर्ष समेत निकालेको छ ।
निर्वाचन आयोगले हिजोमात्र संविधानको मर्म बिपरित भएको भन्दै राप्रपाको विधानमा रहेको राजसंस्था र हिन्दुराज्य सम्बन्धी शब्दावली हटाउँदै बांकी विधान अनुमोदन गरेको थियो ।
आयोगको निर्णयमा असन्तुष्टि जनाएको राप्रपाले आगामी सोमबार राजधानीस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय सहित मुलुकभर रहेका जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
यस्तै सोही दिन राप्रपाले धर्ना दिने कार्यक्रम समेत तय गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा अधिकांश केन्द्रीय समिति सदस्यले निर्वाचन आयोगको निर्णय मान्य नसकिने भन्दै कानुनी उपचार खोज्नु पर्नेमा जोड दिएका थिए ।
राप्रपा नेपाल र राप्रपाबीच भएको एकीकरण पछि गत फागुन पहिलो साता भएको पार्टीको महाधिवेशनले प्रजातन्त्रसहितको राजतन्त्र र हिन्दुराष्ट्र हुनु पर्ने विधान पारित गरेको थियो ।
यस्तै राप्रपाले संवैधानिक हिन्दु राष्ट्र कायम गर्ने बिषयमा संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय समेत गरेको नेता श्रेष्ठले जानकारी दिनुभयो ।
यसैविच राप्रपाले आफ्नो चुनाव चिन्ह गाई नै सार्वजनिक गरेको छ । पार्टीभत्र लामो समयदेखि चुनाव चिन्ह् गाई कि हलो भन्ने विवादका बाबजुद आज गाई लाई नै चुनाव चिन्हको रुपमा सार्वजनीक गरेको हो ।
चुनाव चिन्ह् सार्वजनिक समारोहमा बोल्दै पार्टी अध्यक्ष कमल थापाले पार्टीले लिएको हिन्दू राष्ट्रको सिद्धान्त र गाईसँगको भावनात्मक सम्बन्धका कारण सो चिन्ह् छनोट गरिएको बताउँदै सोही चिन्ह्मार्फत जनताको विश्वास जितेर पार्टीका सिद्धान्त स्थापना गरिने बताउनु भयो ।