नेपालगञ्ज, चैत ५।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफ्नो पार्टीले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय अभियान तराई–मधेसमा जनता जागरणका लागि केन्द्रीत भएको दावी गर्नु भएको छ ।
प्रेस चौतारी बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले अभियानलाई एमालेका कार्यकर्ता, समर्थक र शुभेच्छुकले मात्रै नभई आम नेपाली जनताले साथ दिएको दावी गर्नुभयो ।
उहाँले सहभागिताको हिसाबले मेची–महाकाली राष्ट्रिय अभियान ऐतिहासिक भएको टिप्पणी गर्दै यसखालको जनताको सहभागिताले पार्टीलाई थप उर्जा मिलेको बताउनुभयो । साथै उहाँले अभियान निर्वाचनमा भोट तान्न नभएको उल्लेख गर्नु भएको छ ।
अभियानका क्रममा सप्तरीमा भएको घटनामा सुरक्षा निकायको कामको प्रशंसा गर्दै महासचिव पोखरेलले पाँच जनाको ज्यान जानुमा मधेसी मोर्चा जिम्मेवार भएको आरोप लगाउनुभयो ।नेपालको संविधान–२०७२ मा नागरिकताको सन्दर्भमा बिश्वका सबै मुलुकमा भन्दा सहज व्यवस्था गरिएको भन्दै महासचिव पोखरेलले नागरिकताको सवालमा गलत भ्रम उत्पन्न गराइएको दावी गर्नुभयो ।
उहाँले जुनसुकै शक्तिको धम्की आएपनि देशको अहित हुने गरी नेकपा एमालेले काम नगर्ने भन्दै एमालेले लिएका एजेण्डा अहिले सिंगो देशका एजेण्डा भएको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नुको बिकल्प नभएको स्पष्ट पार्नुभयो ।
लामो समयदेखि स्थानीय निकायमा जनप्रतिनिधिविहीन हुँदा आम नागरिकले दुःख पाएको बताउँदै महासचिव पोखरेलले निर्वाचनको विरोध गर्नेहरु देशको अहित चाहने र प्रगती भएको देख्न नचाहने शक्ति भएको टिप्पणी गर्नुभयो । उहाँले तोकिएको मितिमा निर्वाचन गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।