काठमाडौ, ४ चैत्र ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारीबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ब्रिफिङ गरेको छ ।
प्रमुख आयुक्त अयोधीप्रसाद यादवले आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर नयाँ संरचना अनुसार कायम ७ सय ४४ वटा स्थानीय तहमा भइरहेको निर्वाचन तयारीका विषयमा जानकारी गराउनु भएको हो ।
आयुक्त यादवले निर्वाचन आयोगको गतिविधि तथा निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउनुका साथै निर्वाचनका लागि राजनीतिक वातावरण बनाउने विषयमा छलफल भएको बताउनुभयो ।
तोकिएको समयमा निर्वाचन गर्न आयोग पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यादवले सबै मिलेर विद्यमान असमझदारी सुल्झाउनतिर लाग्नु पर्ने बताउनु भयो ।
आयोगको धारणा सुनिसकेपछि प्रधानमन्त्री दाहालले सद्भावको विश्वसनीय वातावरण बनाउनेतर्फ आफ्नो प्रयास केन्द्रीत हुने बताउनु भएको जानकारी दिनुभयो ।
छलफलमा निर्वाचन आयोगकका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसहित पाँचै जना आयुक्तहरुको सहभागिता रहेको थियो ।
आगामी वैशाख ३१ गतेका लागि तय स्थानीय निर्वाचनका लागि ७९ वटा दललाई योग्य ठहराएको आयोगले भोलीबाट मतपत्र छपाईको काम सुरु गर्ने तयारी गरेको आयोगले जनाएको छ ।