काठमाडौ ३ चैत्त ।
पूर्व सहायक मन्त्री तथा नेपाली कांग्रेसका नेता रामहरि ढुंगेलको आज बिहान निधन भएको छ । रामेछापका पूर्व सांसद ढुंगेल डिल्लीबजारस्थित आफ्नै कोठामा बिहान मृत अवस्थामा भेटिएको हो ।
उहाँ लामो समयदेखि उच्च रक्तचाप र ग्याष्ट्रिकको समस्याबाट ग्रसित हुनुहुन्थ्यो । उनको निधन हृदयघातबाट भएको हुन सक्ने अनुमान गरिएको छ ।
राति केहि असजिलो भएपछि उहाँ चेकअपका लागि हिमाल अस्पताल पुग्नु भएको थियो । अस्पतालले ग्यास्टिकको समस्या भन्दै सामान्य औषधि दिएर फर्काएपछि कोठामा पुगेर सुत्नु भएका उहाँ बेडमा सुतेकै अवस्थामा मृत भेटिएको हो ।
अहिले ढुंगेलको शव पोस्टमार्टम गर्ने तयारी भइरहेको जनाइएको छ । उहाको मृत्युको खवर पाएपछि कांग्रेस नेताहरु अहिले डिल्लीबजार पुग्ने क्रममा रहेको बताइएको छ ।
पञ्चायत व्यवस्थाविरुद्ध कांग्रेसले चलाएको आन्दोलनदेखि ढुंगेल राजनीतिमा सक्रिय थिए । २०५६ सालमा रामेछाप क्षेत्र नम्बर दुईबाट सांसदमा निर्वाचित हुनु भएका ढुंगेल केही महिना कृषि सहायकमन्त्री बन्नु भएको थियो ।
ढुंगेलको निधनको खबर सुन्नासाथ रामेछापबाट जिल्लास्तरका नेता तथा कार्यकर्ताहरु अन्तिम श्रृद्धाञ्जली दिनका लागि काठमाडौंतर्फ लागेका छन् ।