काठमाडौँ, २ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनकाबारेमा पार्टीको पूर्ववर्ती अडान यथावत् रहेको बताउनुभएको छ ।
पार्टीले स्थानीय तहको निर्वाचनका लागि दृष्टिगत गरेर केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘अनुशिक्षण कार्यक्रम’ मा उहाँले भन्नुभयो–“सीमाङ्कनको विषय स्थानीय चुनावसँग सरोकार नराख्ने भएकाले यसलाई थाँती राखेर अगाडी बढ्नुपर्दछ ।”
उपप्रधान एवम् सङघीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहनुभएका अध्यक्ष थापाले भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्वका विषयलाई सामान्य परिमार्जनसहित अगाडि बढाउन सकिने विचार व्यक्त गर्नुभयो ।
अध्यक्ष थापाले स्थानीय चुनावका लागि स्थानीय तहमा आवश्यक वातावरण तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै त्यसका लागि काठमाडौँ छाडेर सम्बन्धित जिल्लामा चाँडो जान केन्द्रीय नेतालाई आग्रह गर्नुभयो ।