काठमाडौं, चैत १।
७ सय ४४ स्थानीय तह आज देखि औपचारिक रुपमा कार्यान्वयनमा आएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगरपालिकाको उद्घाटन गरेसँगै मुलुक भरको स्थानीय तहले औपचारिक रुपमा आज देखि काम सुरु गरेका हुन् ।
महानागरपालिकाको कार्यालयमा आयोजित एक बिशेष समारोहका बीच प्रधानमन्त्री दाहालले मुलुकभर रहेका ७ सय ४४ वटै स्थानीय तह कार्यान्वयनमा आएको घोषणा गर्नुभयो । उहाँको घोषणा सँगै सबै स्थानीय तहका सम्पूर्ण कार्यालय र कार्ययोजना कार्यन्वयनमा आएका छन ्।
नयाँ संविधान अनुसार सरकारले स्थानीय निकायलाई गत शुक्रबार तहमा रुपान्तरण गरि राजपत्रमा प्रकाशित भएलगत्तै अस्तित्वमा आएका ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिकाले आजबाट काम सुरु गरेका हुन् ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधान एवं संघीय मामिला तथा स्थानीय बिकास मन्त्री कमल थापाले संवैधानिक ब्यवस्थाअनुसार तीन तहमा उल्लेख भएका केन्द्र, प्रदेश र स्थानीय सरकारको कामकारवाही प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिनुभयो ।
मन्त्री थापाले दक्षीण एसियाकै अग्रगामी स्थानीय तहको निर्माण भएको बताउदै चुनौती पूर्ण रहेको यसको कार्यान्वयनका लागि एक जुट हुनु पर्ने आवश्यकता औल्याउनुभयो ।
आजबाट स्थानीय सरकार कार्यान्वयनमा आएको बताउँदै मन्त्री थापाले आफ्नै घरदैलोमा जनताले स्थानीय सरकार प्राप्त गरेको बताउनुभयो ।
कार्यक्रममा बिभिन्न दलका नेता तथा सांसदले समेत स्थानीय तह कार्यान्वयनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
स्थानीय तह पुनर्संरचना आयोगको समयावधि सोमवार सकिए लगत्तै सरकारले औपचारिक कार्याक्रम गरी ७ सय ४४ वटा स्थानीय तहको औपचारिक सुरुवात गरेको हो ।