काठमाडौं,१ चैत्र ।
एक साता भित्र आफ्ना माग पुरा गर्न सरकारलाई दिएको अल्टिमेटम आजदेखि सकिने भएकाले आगामि रणनिति बनाउन मधेसी मोर्चाको बैठक बस्दै छ ।
मोर्चाले संबिधान संशोधन बिना निर्बाचनमा गए सरकारलाई दिएको समर्थन फिर्ता लिने यसअघि नै चेतावनी दिईसकेको छ ।
राजधानीको बिजुलीबजारस्थित तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा अहिले केहिबेरमा बस्ने मोर्चाको सचिवालय बैठकमा एकसाताको अल्टिमेटम, माग सम्बोधनका लागि सरकारको पहल र भावी रणनीतिबारे छलफल हुने सद्भावना पार्टीका महासचिब मनिशकुमार सुमनले जानकारी दिनुभयो ।
सचिवालय बैठकको निर्णय भोली बस्ने मोर्चाका शीर्ष नेताको बैठकमा प्रस्तुत गर्ने र भावी रणनीति सार्वजनिक गर्ने सुमनले बताउनुभयो ।
मोर्चाका नेताहरु सरकारलाई दिएको सात दिनको अबधिमा पनि आफुहरुको मागबारे खासै चासो नराखेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे एकमत देखिएको जनाईएको छ ।
यद्यपी आज र भोली बस्ने बैठकपछि मात्र मोर्चाले त्यसबारे औपचारिक निर्णय गर्ने सुमनले बताउनुभयो ।
मोर्चाको समर्थन गुम्ने सम्भावना बढेपछि सत्तागठबन्धन कायम राख्न प्रधानमन्त्री पुष्पकमल दाहालले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री सहित सरकारमा सामेल गर्नुभएको छ भने मधेशी जनअधिकार फोरम लोकतान्त्रिकसंगको छलफल जारी छ ।
अन्य दललाई पनि विधेयक पारितका लागि सहयोग गर्न प्रधानमन्त्री दाहालको आग्रह छ । संविधान संशोधन विधेयक पारितका लागि संसदमा हाल कायम सदस्यको दुई तिहाई अर्थात ३ सय ९६ मत आवश्यक पर्छ ।