काठमाडौं, फागुन २९।
नयाँ शक्ति नेपाल पार्टीले एनसेललाई लाभकर छुट दिने सरकारको निर्णय राष्ट्रघाती भएको जनाएको छ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले विज्ञप्ति निकालेर एनसेलको करछली र मन्त्रि परिषदको यसलाई सघाउने गरी भएको निर्णयको भत्र्सना गर्नुभएको हो ।
सरकारले एउटा निश्चित विधि र मापदण्डलाई उल्लंघन गर्दै मन्त्रीपरिषद्बाट विदेशी लगानी रहेको दूरसञ्चार कम्पनी एनसेलको बिक्रीमा लाग्ने पूँजीगत लाभकर नउठाउने प्रपञ्च गर्नु भ्रष्टाचार जन्य अपराध र निर्लज्जताको पराकाष्ठ भएको नयाँ शक्तिले जनाएको छ ।
एउटा गरिब किसानले आफ्नो मेहनत र पसिनाबाट जोडेको कुनै घर खेत समेत बिक्री गर्दा पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको भन्दै त्यही प्रकृतिको सम्पत्ति एनसेल बेचबिखन हुँदा सिंगो राज्य संयन्त्र कर छलीमै सघाउ गरी लाग्नु भ्रष्टाचार मात्रै नभई राष्ट्रघात भएको नयाँ पार्टीको ठहर गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, अर्बौं नाफा गर्ने कम्पनीलाई कर उन्मुक्ति दिने प्रपञ्च गम्भीर नीतिगत अपराध भएको पनि उसले जनाएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादीबीच उच्चस्तरमा सहमति भएको भन्दै जबरजस्त निर्णय गर्नु अपराध भएको बताएको छ ।