म्याग्दी, फागुन २९ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले मधेस केन्द्रित दलले हठ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले दम्भ नत्यागेसम्म मुलुकले निकास नपाउने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता डा. रिजालले एमालेले संविधान संशोधन नमान्ने र मधेस केन्द्रित दलले निर्वाचन नमान्ने अवस्था रहेकाले दलबीचको सम्झौताले मात्रै वर्तमान समस्याको हल हुन सक्ने बताउनु भएको हो ।
नेता डा. रिजालले संविधान जारी गर्दा नै तत्कालीन प्रमुख तीन राजनीतिक दलले मधेस केन्द्रित दलको जायज मागलाई संविधान संशोधन मार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाइसकेको स्मरण गर्दै विगतको प्रतिबद्धताबाट कोही पनि पन्छिन नमिल्ने धारणा राख्नु भयो ।
साथै नेता डा रिजालले मधेस केन्द्रित दललाई संसद्बाटै आफ्ना माग सम्बोधन गराउन सुझाव समेत दिनु भयो । नयाँ निर्वाचनको जनमत अनुसार संविधानलाई थप परिमार्जन गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिँदै उहाँले कञ्चनपुर घटनामा भएको भारतीय कमजोरीलाई कूटनीतिक तवरबाटै ध्यानाकर्षण गराइएको जानकारी दिनु भयो ।