काठमाडौ २७ फागुन ।
लामो समयको स्थगनपछि व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । दिउँसो एकपछि नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा निर्वाचन सम्बन्धी विधेयक प्रस्तुत हुने संसद सचिवायले जनाएको छ ।
करिब दुईसातापछि बस्न लागेको बैठकमा सदनमा छलफलकै क्रममा रहेको संविधान संशोधन विधेयकमाथि भने छलफल नहुने भएको छ । संविधान संशोधन विधेयक अघि बढाउँदै गत फागुन १२ गते देखि संसद बैठक स्थगित भएको थियो ।
आजको बैठकमा निर्वाचन क्षेत्र निर्धारण विधेयक, पूर्व पदाधिकारीको सुविधा वृद्धि लगायत लगायत केही विधेयक प्रस्तुत हुनेछन् ।
यसैबीच सप्तरी घटनाबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठकमा पार्टीगत धारणा राख्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सम्बोधन गर्ने एमालेले जनाएको छ ।
सप्तरीमा कांग्रेस, माओवादी तथा मधेशी मोर्चाले संयुक्त रुपमा आफ्ना शीर्ष नेताको हत्या प्रयास गरेको आरोप लगाउदै आएको एमालेले घटनाबारे संसदलाई जानकारी गराउन लागेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।