काठमाडौ २७ फागुन ।
मधेस आन्दोलनको त्रासले माग वृद्धि भएपछि काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ । इन्धनको माग अहिले सामान्य अवधि भन्दा दोब्बर भएको नेपाल आयल निगमले जनाएको छ ।
इन्धनको माग बढेपछि आपूर्ति पनि बढाएको निगमका प्रवक्ता सीताराम पोख्रेलले बताउनुुभयो । निगमका अनुसार हिजो बिहानैबाट उपभोक्ताको लाइन बढेपछि थानकोट डिपोले ८ लाख लिटर पेट्रोल र ९ लाख ५० हजार लिटर डिजेल वितरण गरेको थियो ।
अमलेखगन्जबाट आयात गरेको इन्धनले नपुगेर नेपालगन्ज डिपोबाट समेत उपत्यकालाई इन्धन आयात गर्ने तयारी भएको जनाइएको छ । यसैबीच निगमले आज उपत्यकामा सात लाख लिटर पेट्रोल वितरण गर्ने भएको छ ।
आज पनि सामान्य अवधिभन्दा धेरै इन्भन वितरण गरी पेट्रोल पम्पहरुमा लागेको लाइनलाई तत्कालै घटाउने प्रयास भइरहेको प्रवक्ता पोख्रेलले बताउनु भयो ।
मधेस आन्दोलनका क्रममा इन्धन अभाव हुन सक्ने आशंकाले उपभोक्ताले बढी माग गर्न थाले पनि आपूर्तिमा कुनै समस्या हुन नदिने गरी काम गरिरहेकाले आवश्यकता भन्दा बढी इन्धन सञ्चय नगर्न पनि सर्वसाधारणमा निगमले आग्रह गरेको छ ।